किशोरीहरु महिनावारीका बेला विद्यालय जादैनन्



नेपाल समाचारपत्र, बैतडी ।
बैतडीका कतिपय ग्रामीण क्षेत्रका किशोरीहरु अझै पनि महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित रहेका पाइएका छन् । महिनावारी भएको बेला किताबकापी छुनु हुँदैन भन्ने गलत परम्पराका कारण उनीहरु विद्यालय जानबाट वञ्चित भएका हुन् । महिनावारी भएको दिनदेखि महिनाका ४ दिन घरमा बस्नुपरीरहेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गीता भट्टले बताउनुभयो ।

आफूले विद्यालय जान चाहे पनि अभिभावकहरुले महिनावारी भएको बेला विद्यालय लगाउन नमान्दा जान नसकेको उहाँले बताउनुभयो । श्रीकोटकै पूजा भट्टले पनि कक्षा १० मा पढ्ने बेलादेखि महिनावारी शुरु भएको र सोही बेलादेखि महिनाको ४ दिनमा घरमा बस्नुपरीरहेको उहाँले बताउनुभयो । महिनावारी भएको बेला घरमा बस्नुपर्दा पढाई छुट्ने गरेको किशोरीहरुले बताएका छन् ।

महिनावारी भएको बेला विद्यालय जाँदा देउता रिसाउँछन् भन्ने रुढीवादी परम्परा कायमै रहेको श्रीकोटका राजु धामीले बताउनुभयो । जिल्लाका कतिपय ठाउँमा अझै पनि महिनावारी भएको विद्यालय जान नदिने परम्परा कायमै रहेको र यसले विद्यार्थीहरुको पढाई छुट्ने गरेको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । महिनावारीका बिषयमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम जारी राखेकै भएपनि अन्धविश्वास भने अझै पनि घट्न सकेको छैन् ।

महिनावारीको बेला सेनेटरी प्याड प्रयोग गर्दै
बैतडीको ग्रामीण क्षेत्रका महिलाहरु महिनावारी भएको बेला सरसफाईमा ध्यान दिन थालेका छन् । पहिला पहिला चार दिन सम्म ननुहाउने महिलाहरु अहिले महिनावारी भएको सेनेटरी प्याड समेत प्रयोग गर्नथालेका छन् ।
सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलाहरुलाई सेनेटरी प्याड बनाउने तरीका र प्रयोग गर्ने तरीकाका बारेमा तालिम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिनुभयो । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलाहरुलाई सजिलो हुने स्थानीय लक्ष्मी भाटले बताउनुभयो ।
गाउँघरमा सेनेटरी प्याड बनाउन सिकाएपछि अहिले सबैले घरमा बनाएर प्रयोग गर्न थालेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट राजु धामीले बताउनुभयो । महिनावारी भएको बेला बग्ने रगतलाई व्यवस्थापन गर्नका लागि सेनेटरी प्याडको प्रयोगले सजिलो भएको उहाँले बताउनुभयो ।
ग्रामीण भएका महिनावारी भएको बेला अहिले किशोरी तथा महिलाहरुले सेनेटरी प्याड प्रयोग गर्ने गरेको दोगडाकेदार गाउँपालिका श्रीकोटका शान्ति नाथले बताउनुभयो । सामुदायिक सिकाइ केन्द्र श्रीकोटले तालिम दिएपछि आफूहरुले सेनेटरी प्याड आँफै बनाएर प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
सामुदायिक सिकाइ केन्द्र श्रीकोटले तीन सय महिलालाई सेनेटरी प्याड बनाउने र प्रयोग गर्ने तरीकाको बारेमा बताएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्