नेपालको सानदार शुरुआत



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सानदार शुरुआत गरेको छ। राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९६–३८ ले सहजै हरायो। यो भुटानको लगातार दोस्रो हार थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो क्वार्टरमा २६–१० को अग्रता लिएको थियो। दोस्रो क्वार्टरमा नेपाल १३–१४ को सामान्य अन्तरले पछि पर्यो। बाँकी दुई क्वार्टर नेपालले क्रमशः २६–६ र २१–८ को ठूलो अन्तरले आफ्नो पक्षमा पारेपछि नेपाली युवा टोलीको जित पक्का भएको थियो।

नेपालको जितमा अभिषेक सिंहले सर्वाधिक २३ स्कोर गरे। त्यस्तै चिरञ्जीवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृष्त शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले समान ६–६, विक्रम बानियाँले ४, सुरेश विकले ३ तथा आशिष भुजेलले १ अंक थपे।

यसअघि पहिलो खेलमा भने भारतले बंगलादेशलाई ८२–६५ ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो। जितसँगै भारत ४ अंकसाथ शीर्ष स्थानमा छ। बंगलादेशको भने दुई खेलमा यो पहिलो हार हो। दोस्रो स्थानमा रहेको बंगलादेशको ३ अंक भएको छ। अघिल्लो दिन मंगलबार भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानलाई हराएका थिए।

शुरुको क्वार्टरमा २६–१३ को अग्रता लिएको भारत दोस्रोमा १६–१८ ले पछि परेको थियो। तेस्रोमा पुनः १६–९ को अग्रता बनाउन सफल भारत चौथोमा फेरि २४–२५ ले पछाडि रह्यो। भारतका लागि प्रियांशुले सर्वाधिक २८ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्