बेनी–जोमसोम सडकमा यातायात सञ्चालन नगर्न समय थप



 

प्रताप बानियाँ, म्याग्दी
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको समय अवधि थप गरिएको छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो खस्ने र खोलामा पानीको बहाव नघटेपछि यात्रुको सुरक्षाका लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

यसअघि गएको साउनको पहिलो सातादेखि भदौ दोस्रो सातासम्म बेलुकी ५ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधान सञ्चालनमा रोक लगाइएको थियो। अझै पनि बाढीपहिरोको जोखिम कायमै रहेको हुँदा उक्त सडकखण्डमा आगामी भदौ ३१ गतेसम्मका लागि पुनः सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले रातको समयमा सवारी नचलाउने समय अवधिलाई भदौ मसान्तसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले सहमति जनाएका छन्। तोकिएको समयमा सवारीसाधन सञ्चालन गरेको पाइएमा कारबाही गरिने भएको छ। रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले स्वागत गरेका थिए।

कुल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको तल्लोखण्ड जोखिमपूर्ण रहेको छ। अन्नपूर्ण गाउँपालिका–३ दानाको गुर्इंठेभीर, काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। सडकखण्डअन्तर्गत पर्ने खोलामा पानीको सतह अझै घटेको छैन्।

बेनी–जोमसोमको म्याग्दी क्षेत्रमा पर्ने धेरै ठाउँमा पहिरोले दुःख दिएको बेनी–जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो। उहाँले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ गुईठेभीर, घट्टेखोला र काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताउनुभयो।

पटकपटक अवरुद्ध हुने बेनी–जोमसोम सडकखण्ड भएर मुस्ताङको कागवेनी श्राद्ध गर्न तथा प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने हजारौं तीर्थयात्री, पर्यटक र सर्वसाधारणलाई समस्या हुने गरेको छ। यसैगरी सडक जोखिमयुक्त र अवरुद्ध हुनाले हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ ढुवानीमासमेत प्रत्यक्ष असर पुगेको व्यापारीले बताएका छन्। गत वर्ष म्याग्दी खण्डको बेगखोलामा आएको बाढीले मानवबस्ती, बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पदैलयात्रीलाई सास्ती भएको स्थानीयले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्