बँदेलले मकैबाली सखाप



 

सरिता चलाउने, सल्यान
सल्यानमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्। जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले लगाएको मकैबालीमा बँदेलले ९० प्रतिशतसम्म क्षति पुर्याएको पाइएको छ।

जिल्लाको कपूरकोट गाउँपालिकालगायत अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ। ग्रामीण क्षेत्रका जनताको मुख्य पेसा र जीविकोपार्जनको आधार बनेको मकैखेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्।

कपूरकोट–३ खुङका किसान ज्योतिप्रकाश ओलीले आफ्नो बारीको सबै मकैबाली बँदेलले रातिको समयमा आएर नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने– ‘मेरो १४ रोपनी बारीमा पाकेर भित्त्याउने बेलको सबै मकै बँदेलले खाएर सखाप पारिदियो, अब के खाएर बाँच्ने हो, चिन्ता बढेको छ।’ दिनभर जंगलमा गएर बस्ने र राति भएपछि हुलका हुल बँदेल मकैबारीमा पसेर मकै सोत्तर पार्ने गरेको उनले जनाए।

वर्षेनी अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको उनले जनाए। बँदेलले मकैसँगै यस क्षेत्रमा लगाएको बेमौसमी तरकारी पनि खाइदिने गरेको छ।
मुख्य बालीका रूपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको अर्का किसान लालसिंह घर्तीले जनाए। उनले भने– ‘शुरूमा छिमेकीको बारीमा बँदेल लाग्यो, त्यताको सबै सखाप पारेपछि अहिले मेरो बारीमा पसेर मकैबाली सखाप पार्न थालेको छ।’ यस्तै पाखापानीका किसान द्रोण बुढाथोकीको मकै पनि बँदेलले नष्ट गरिदिएको छ। ६ महिनालाई खान पुग्ने मकै बँदेलले नष्ट गरिदिएपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले किसानलाई पिरोल्न थालेको छ।

जंगली बँदेलको चोरी सिकारी गर्न पनि नपाइने तथा सामुदायिक वनको विकाससँगै बँदेलको संख्यामा वृद्धि भएको छ। जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्