फोरजी र यसको दिगो विकास



 

हाल अत्यन्त लोकप्रिय रहेको मोबाइल सेवाको विकासक्रम र प्रविधिको अवस्थालाई व्याख्या गर्ने कार्य संयुक्त राष्ट्रसंघ अन्तर्गतको (आईटीयू) संस्थाले गर्ने गरेको छ। विश्वव्यापीरूपमा विभिन्न अनुसन्धानात्मक कार्यहरू भइरहेको तथा सोहीअनुरूप दिनानुदिन प्रविधि तथा डाटा प्रवाह क्षमतामा सुधार भइरहेको छ। प्रारम्भिक रूपमा मोबाइल सेवा भ्वाइस सेवा प्रदान गर्नका लागि विकास गरिएकाले उक्त भ्वाइस क्षमता मात्र रहेको मोबाइल प्रणालीलाई पहिलो पुस्ताको (वनजी) का रूपमा व्याख्या गरिएको हो।

समयक्रमसँगै मोबाइल प्रयोगकर्ताको भ्वाइसबाहेक थप डाटा सेवाको माग बढ्दै गएको र सोअनुरूप प्रविधिले समेत केही सीमित गतिको डाटा सेवा उपलब्ध गराउन सक्ने भएकाले सोहीबमोजिम सेवा व्यापारीकरण भएको हो। मोबाइल सेवाको यस चरणलाई दोस्रो पुस्ता (टुजी) को रूपमा व्याख्या गरिएको थियो।

इन्टरनेटको व्यापकताको कारणले गर्दा मोबाइल प्रयोगलकर्ताले अधिक क्षमताको डाटा प्रवाहको माग गर्न थालेको तथा सोअनुरूप विकसित प्रविधिले समेत यो सेवा प्रवाह क्षमता रहेको भ्वाइस तथा अझ उच्च गतिको डाटाको उक्त माग सम्बोधनका लागि आईएमटी २००० का रूपमा व्याख्या गरेको तथा यही प्रविधिलाई तेस्रो पुस्ताको (थ्रीजी) रूपमा व्याख्या गरियो।

यसबमोजिम हाल विश्वब्यापी रूपमा मोबाइल प्रविधिमा जीएसएम, सीडीएमए तथा वाइम्याक्स हाल सञ्चालनमा रहेका प्रमुख प्रविधि हुन्। मोबाइल प्रविधिको क्षमता दिनानुदिन बिस्तार भई भ्वाइस तथा उच्च गतिको डाटा सेवाको विकास हुँदै जाँदा यस्तो विकासक्रमलाई जीएसएम विकास समुदायले एलटीईका रूपमा विकास गरेको र यस प्रविधिले अब आउने दिनको आवश्यकता सम्बोधन गर्दै जाने लक्ष्य रहेको छ।

सोअनुरूप एलटीईको कमर्सियल रिलिज सन् २००९ को अन्त्यतिर नर्वेको ओस्लो तथा स्विडेनको स्टकहोमबाट भएको हो। नेपालमा भने गत पुष १७ गते नेपाल टेलिकमले फोर जी सेवाको औपचारिक शुरुआत गरेर यो प्रविधि भित्रियो।
नेपाल टेलिकमले शुरुमा पोस्पेडमा एलटिई सेवा शुरु गरेको थियो। सेवा शुरु गरेको ३५ दिनपछि अर्थात् माग २२ गते प्रिपेडमा समेत एलटिई सेवा शुरु गर्यो। एलटिई प्रविधिमा उपलब्ध फ्रिक्वेन्सी व्यान्डविथअनुरुप डाटाको गति प्राप्त हुनेमा हाल ३२ दशमलव ४ एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सकिन्छ भने सैद्धान्तिक रूपमा यस प्रविधिले अधिकतम फ्रिक्वेन्सीको प्रयोगद्वारा बढीमा १०० एमबीपीएससम्मको गति प्राप्त हुन्छ।

प्रविधिको नामकरण गरिएको लंग टर्म एभोल्युसन भन्नाले( एल टी– लंग टर्म अर्थात् लामो समय (भोलिसम्मको) तथा ई– एभोल्युसन अर्थात् विकासक्रम हो। हाल प्रयोगमा रहेका मुख्य तीनैवटा प्रविधि विश्वब्यापी ट्रेन्डअनुरूप एलटीमा रूपान्तरण हुँदै गएका छन्। निजी सेवाप्रदायक कम्पनी एनसेलले ३ महिनाअघि फोरजी सेवा संचालनमा ल्याएको छ।

एलटीई भनेको हाइ स्पिड डाटा हो थ्रिजीभन्दा फरक के छ भने थ्रिजीमा सर्किट स्विचिङ प्रविधिमा संचालन हुन्थ्यो भने एलटीईमा गुणस्तरीय सेवा प्रदान गर्न सकिने परिष्कृत प्रविधि प्याकेट स्विचिंग प्रविधिमा आधारित रहेको छ। सामान्य रूपमा एलटीई भनेको फास्ट डाटा हो। प्याकेट डाटामा आधारित भएको हुनाले एलटीईमा प्राप्त हुने सबै सेवा डाटाको रूपमा नै संचालन हुन्छन्। एलटीईमा भ्वाइस सेवा पनि डाटामा नै संचालन हुन्छ र यसलाई भ्वाईस ओभर एलटीई (भीओएलटीई) भनिन्छ जसबाट उच्च गुणस्तरको एच डी भ्वाईस प्राप्त हुन्छ। यस अघिका सबै प्रविधि टीडीएममा (सर्किट स्विचिंग) आधारित थिए। त्यसमा भने जति डाटा थियो टीडीएममा आधारित रही सम्प्रेषण गरिन्थ्यो। मानिसको आनीबानी तथा आवश्यकताअनुरूप नै प्रविधि विकास हुने हो। प्रविधिको विकासक्रमअनुरूप अब सम्पूर्ण रूपमा डाटासम्बन्धित सिस्टम आउन थाल्यो।

हाल सञ्चालनमा आउँदै गरेको एलटीई सेवाको ईको सिस्टमलाई विकास गरी मनोरञ्जनका लागि मात्र नभई कसरी अत्यधिक मात्रामा शिक्षा, स्वास्थ, जागरूकता तथा आर्थिक विकासका लागि उपभोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो। यस इकोसिस्टमको मुख्य तत्त्वहरूमा एलटीई सी एन पी डी, सी–कन्टेन्ट, एन– नेटवर्क, पी– ल्पेटफर्म, (सेवाहरूको आधार), डी– डिभाइस (मोबाईल सेट)) हुन्। यसका लागि सधैं बाहिरी कन्टेन्टमा निर्भर नभई स्थानीय कन्टेन्टहरूको पनि विकास हुनु जरूरी छ। ई–सपिङ, ई–मेडिसिन, ई–एजुकेसनजस्ता सेवाहरू क्रमिक रूपमा स–साना मात्रामा नेपालमा पनि शुरु भएका छन्। तर कन्ज्युमर विह्यावियर, शिक्षा, जनचेतना, मार्केट एक्सप्लोरेसन यी सबैलाई दिगो बनाउन एलटीईको इकोसिस्टमका सबै तत्त्वको एकीकृत रूपमा विकास हुँदै जानु जरूरी छ। हाल मनोरञ्जनका लागि कन्टेन्टमूख्यतः युट्युब तथा फेसबुक रहेका छन्।

नेपाल टेलिकमले पनि एलटीईको अत्यधिक प्रभावकारिताका लागि इकोसिस्टमका अन्य तत्त्वहरूको विकासमा पनि केही प्रयास गरेको छ। यसअनुरूप हाल म्युजिक नेपालको सहकार्यमा स्ट्रिमिंग कन्टेन्टको सेवा शुरू भएको छ, त्यस्तै मोबाइल सेट बन्डलिंग पनि अघि बढाइएको छ। साथैअन्य क्षेत्रहरू जस्तै ई–एजुकेसन आदिमा समेत अध्ययन चलिरहेको छ, निकट भविष्यमा क्रमिकरूपमा यी सेवा शुरु हुँदै जानेछन्। यसबाट अन्य क्षेत्रबाट पनि विभिन्न कन्टेन्ट तथा सेवाहरूको विकास पश्चात् मात्र एलटीईको अत्यधिक उपयोगिता सुनिश्चित गर्न सकिन्छ। स्थानीय रूपमा आवश्यक तथा उपयोगी कन्टेन्ट तथा जनचेतना, शिक्षा, मार्केट, सपिङसम्बन्धी कन्टेन्ट र सेवाहरूको पनि विकास हुनु जरूरी छ। यी पनि बिस्तारै फस्टाउँदै छन्। यस अलावा विभिन्न लोकप्रिय कन्टेन्टहरूलाई स्थानीय रूपमा उपलब्ध गराउनाले सो कन्टेन्ट गुणस्तरीय तथा प्रभावकारी रूपमा उपभोग गर्न सहज हुन्छ। यसका लागि पनि नेपाल टेलिकमले गुगलको क्याससर्भर धेरै अगाडि कार्यान्वयन गरेको थियो, साथै केही समयअघि फेसबुकको क्यास सर्भर पनि राखिसकेको छ।एलटीईको इकोसिस्टममध्येको एक तत्त्व अर्थात् एलटीई नेटवर्क तयार भएको छ जुन नेपाल टेलिकमले ल्याएको छ। त्यसपछि इकोसिस्टमको अर्को तत्त्व ह्यान्डसेट (मोबाइल सेट)भयो। एलटीई शुरु भएपश्चात एलटीई चल्ने धेरै सेटहरु पनि क्रमिक रूपमा उपलब्ध हुँदै छन्। अहिले बजारमा उचित तथा सस्तो दरका एलटीई सपोर्ट गर्ने मोबाइलहरू उपलब्ध छन्।

आईसीटी फोर डेभलपमेन्ट भन्ने कन्सेप्ट विश्वव्यापी रूपमा नै मान्यता प्राप्त सिद्धान्त रहेको छ। यसअनुसार आईसीटीको विकास तथा प्रयोगबाट एकीकृत आर्थिक विकास सम्भव हुन्छ। मोबाइलको सजिलो पहुँचबाट आर्थिक विकासमा कति प्रभाव पर्याे भन्ने त्यो प्रत्यक्ष रूपमा सम्बन्धित छ भन्ने तथ्य सर्वस्वीकार्य रहेको छ।

हाल टेलिकमले वितरण गरेको एलटीई सेवा काठमाडौँ उपत्यका र पोखराको मुख्य क्षेत्रमा रहेको टेलिकमले जनाएको छ। अरु क्षेत्रमा बाँकी विस्तारका लागि काम भइरहेको र नेपाल राज्यभरि नै क्रमिक रूपमा यसको विस्तार हुनेछ। यसपछि अर्को चरणमा उपमहनगरपालिकालगायतका क्षेत्रमा विस्तारै यसको पहुँच पुर्याउने योजना छ। यसको देशब्यापी रूपमा विस्तारका लागि चाँडै नै टेन्डर आह्वान हुँदै छ।

एलटीईको सेवा शुरू गरेपश्चात् टेलिकमले ल्याएका एलटीई डाटा प्याक अरु डाटा प्याकभन्दा धेरै नै सर्वसुलभ रहेका छन्। डाटाको प्रयोग बिस्तार हुँदै गएपछि सोअनुरूप शुल्क पनि सस्तो हुँदै जाने क्रमअनुरूप भविष्यमा समेत यसैअनुरूप हुने निश्चित छ। ग्राहकको सेवा सुविधालाई ध्यानमा राखेर सम्भव भएसम्म सर्वसुलभ सेवा वितरण गरिने टेलिकमको योजना हो। आगामी दिनमा टेलिकमले क्रमिक रूपमा मागअनुरूपका विभिन्न आकर्षक डाटा तथा अन्य प्याकहरु उपलब्ध गराउँदै जानेछ। पहिलाको तुलनामा टेलिकमले दिने सबै सेवा धेरै सस्तो र सर्वसुलभ हुँदै गएको छ, यसक्रममा यसलाई झन् सुलभ बनाउन नेपाल टेलिकम सधैं लागिरहेको छ।

प्रविधिको विकास सगैं फाइभ जीको पनि धेरै रिसर्च हुँदै गएको छ। ट्रायल नेटवर्कहरु पनि बन्दै गइरहेका छन्। टेलिकमको नयाँ योजनाअनुरूपको एलटीई आएपछि फाइभ जीमा पनि जान सकिन्छ कि भन्ने अध्ययन गरी कार्य अघि बढाइएको छ। त्यसमा जानका लागि मेरो विचारमा एलटीईको एप्लिकेसन पूर्ण रूपमा विकास भई दिगो रूपमा एलटीई इकोसिस्टम परिपक्क हुनु जरूरी छ। र यसका लागि नेपाल टेलिकमले विभिन्न सेवा तथा कन्टेन्टका लागि कार्य अघि सारिसकेको छ र केही योजनाका क्रममा रहेका छन्।

नेपाल टेलिकमका सह–प्रवक्ता शोभन अधिकारीसंँग नेपाल समाचारपत्रका लागि दिपेन्द्र थापाको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्