सिसडोलबासीको मागै मागले राजधानी दुर्गन्धित



 

ईश्वरराज ढकाल, काठमाडौं
ठमाडौं महा नगरपालिकाले आफ्नो घर, अफिस र कम्पाउन्डभित्रै फोहोर व्यवस्थापन गर्न अपिल गरेको छ। सिसडोलबासीले फोहोर व्यवस्थापनमा अवरोध उत्पन्न गराएपछि कामपाले सार्वजनिक सूचना जारी गरेर सो अपिल गरेको हो।

कामपाले हिजो बुधबार जारी गरेको सूचनामा स्थानीय सिसडोलबासीसँग फोहोरमैलाको समस्या समाधान गर्न हदैसम्म लचकता अपनाउँदासमेत समस्या समाधान हुन नसकेपछि अल्पकालीन रूपमा घर, अफिस र कम्पाउन्डमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।

राजधानीको फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न गएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र वातावरण व्यवस्थापन विभागका कर्मचारीमाथि हातपातको प्रयास भएको छ। दुई दिनदेखि फोहोर व्यवस्थापनमा अवरोध भएपछि स्थानीय जनतासँग वार्ता गर्न पुगेका कामपा–१२ नम्बर वडा अध्यक्ष विकास डंगोल, वातावरण व्यवस्थापन महाशाखाका प्रमुख युवराज खनाल र टेकु ट्रान्स्फर स्टेसनको फोहोरबाट पीडित जनता सिसडोल ल्यान्डफिल साइट पुगेका थिए।

लामो समयदेखि रोकिएको मुआब्जा दिनुपर्ने, तत्काल फोहोर पुर्नुपर्ने, लिचेड व्यवस्थापन गर्नुपर्ने, ल्यान्डफिल साइटको क्षेत्र ९ सय मिटरसम्म अधिग्रहण गर्नुपर्ने, ल्यान्डफिल साइट पीडित जनतालाई घरभाडा दिनुपर्नेलगायतका माग राखी फोहोर अवरुद्ध गरेका जनतासँग वार्ता गर्न पुगेका जनप्रतिनिधिसहितको टोलीलाई हातपातको प्रयास भएको थियो।

कामपा वातावरण व्यवस्थापन महाशाखा प्रमुख खनालले जबरजस्ती सहमतिपत्रमा हस्ताक्षर गर्न दबाब दिँदै हातपात गर्न खोजेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘जायज माग पूरा गर्न सहमति गर्दै थियौं, हाम्रो तहबाट पूरा गर्नै नसक्ने माग ल्याएर हस्ताक्षर गर्न दबाब दिँदा धकेलाधकेल भयो।’ अराजक भीडले फोहोर व्यवस्थापनमा समस्या पारेको उहाँले बताउनुभयो। ‘मागको सम्बोधन गर्न आउने अनि सहमतिपत्रमा हस्ताक्षर गर्न नमान्ने? यस्तो अवस्था भएपछि केही भनाभन भएको हो। भीड थियो, सामान्य हात हालाहाल भएको हो।’ –उहाँले भन्नुभयो।
उहाँले अब माग पूरा नभएसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने नदिने अडान राख्नुभयो। फोहोर संकलन हुन छाडेपछि काठमाडौं र ललितपुरको फोहोर फेरि बाटौमै थुप्रिन थालेको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायत १८ वटा स्थानीय निकायका फोहोर बाटोमै असरल्ल अवस्थामा छ। सोमबार र मंगलबार फोहोर बोकेर ल्यान्डफिल्ड साइटमा गएका सबै सवारी साधन फर्किका छन्।

सिसडोलमा फोहोर पुर्याउन नसकेका कारण ललितपुर महानगर क्षेत्रको फोहोर बालकुमारीस्थित संकलन केन्द्रमा थुप्रिएको र सो क्षेत्र दुर्गन्धित हुन पुगेको छ। दैनिक करिब ८ सय टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। करिब एक वर्षयता फोहोर व्यवस्थापनमा अवरोध हुन छाडेको थियो। तर अचानक स्थानीय जनताले विभिन्न समयमा सहमति गरेको माग पूरा नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापनमा एक सातायता दुईपटक अवरोध पुर्याइसकेका छन्। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्न कामपाका उपप्रमुख हरिप्रभा खड्गीको संयोजनकत्वमा चारवटा वडाका अध्यक्षसहितको समिति बनाएको जानकारी दिनुभयो।

हिजो बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। विभाग प्रमुख श्रेष्ठले स्थानीयको माग पूरा गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो। ‘हामी छलफलकै क्रममा छौं, समस्या समाधान हुनासाथ फोहोर व्यवस्थापन गर्नेछौ।’ –उहाँले बताउनुभयो। फोहोर संकलन हुन छाडेपछि काठमाडौं र ललितपुरको सडक गल्लीमा फोहोर थुप्रन थालेको छ। काठमाडौं महानगरपालिका क्षेत्रको फोहोर टेकु ट्रान्सफर स्टेसनमा थुप्रिएको छ।

प्रतिक्रिया दिनुहोस्