शिक्षा दिवसमा मन्त्रीको कडा निर्देशन



काममा ढिलासुस्ती नगर्न आग्रह, अनियमितता भए कारबाही गरिने

नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षकहरूलाई काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ। यदि कसैले काममा ढिलासुस्ती तथा अनियमितता गर्छ भने कारबाही गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ। जिल्ला शिक्षा समिति काठमाडौंद्वारा सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा आयोजित ३८औं राष्ट्रिय शिक्षा दिवस तथा १७औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले हरेक विद्यालयमा महिलामैत्री शौचालय बनाउने तथा छात्राहरूका लागि ड्रेसिङ रुमको व्यवस्था गर्न नीतिगत रूपमा लैजाने लागेको बताउनुभयो। उहाँले वर्तमानमा मात्रै नभई शिक्षकहरूलाई भविष्यमा पनि जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो। ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित ३८औं राष्ट्रिय शिक्षा दिवस तथा १७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

सोही अवसरमा जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले अनिश्चितता र अन्योल भए पनि संघीय रूपमा जानलाई संविधानमा उल्लेख भएको १० नगरपालिका र १ महानगरपालिकासँग समन्वय गरी काम गर्न आफू तयार भएको र गरिरहेको बताउनुभएको छ। महिला शिक्षकका रूपमा महिलाको प्रतिनिधित्व नभएकोमा महिला शिक्षक समाजकी गीता खरेलले चर्को आक्रोश व्यक्त गर्नुभएको थियो।

कार्यक्रमका सभापति शिवसुन्दर राजवैद्यले विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सदस्य, अभिभावक, विद्यालय संस्थापक, प्रधानाध्यापक तथा प्रिन्सिपल, संयोजक, शिक्षक र कर्मचारी गरी १ सय १ जनालाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो। सोही कार्यक्रममा जिल्ला शिक्षा कार्यालय काठमाडौंका चालक मनहरि भट्ट तथा स्रोतव्यक्ति वासुदेव रेग्मी पनि सम्मानित हुनुभएको थियो।

यसैबीच सौरदीप बोर्डिङ स्कुलका शिक्षक तथा नेपाल समाचारपत्रकर्मी यदुप्रसाद भट्टलाई पनि ३८औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्