चर्पीविहीन विद्यालय, ५ सय विद्यार्थीद्वारा खुला चौरमै दिसापिसाब



 

ललित सिंह, बझाङ
विद्यार्थीलाई प्रयोग गर्ने शिक्षा कार्यालयले दिएका लाखौंका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हँुदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न बाध्य भएका छन्।

शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका ५ कोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन्।

विद्यालयमा चारवटा चर्पी छन् एक शिक्षकले प्रयोग गर्ने गरेका छन् विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ, तीनवटा चर्पीमा दिसाापिसाबले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक वर्ष भयो। विद्यालयमा दिसापिसाब लाग्यो कि दगुर्दै खोला किनार र झाडीमा जानुपर्ने बाध्यता भएको कक्षा ९ मा अध्ययनरत अन्नता जप्रेलले बताइन्। उनले भनिन्– ‘कसैले देख्छ कि भनेर डर लाग्छ हत्त न पत्त पानीविनै दिसा सफा नगरेर कक्षाकोठामा बस्नुपर्छ। छाउ भएको समयमा त विद्यालयमा जानै अप्ठ्यारो लाग्ने हुन्छ।’

घरमा चर्पी प्रयोग गरिन्छ विद्यालयमा चर्पी प्रयोग गर्ने पाइँदैन शिक्षकले प्रयोग गर्ने चर्पीमा गए शिक्षकले कुटपिट गर्ने गर्छन् भएका चर्पीमा झाडी उम्रेर चर्पीभित्र पस्न नसक्ने भएपछि खुला ठाउँमा दिसापिसाब गर्नुपरेको कक्षा १० मा अध्यनरत राकेश जप्रले बताए। उनले भने– ‘हामीले प्राक्टिकल गर्दा चर्पी सफा त गरौं सर भन्दा शिक्षाबाट योजना माग्नुपर्छ भन्छन्, हाम्रो त विद्यालयमा दुर्दशा छ। विद्यालयलाई सरस्वतीको मन्दिर भन्थे। शिक्षकको तलबबाहेक कमाइ खाने थलो बनेको छ।’

विद्यालयमा संख्या गन्ने हो भने चर्पीको आवश्यकताभन्दा बढी छ। प्रयोगमा एक÷दुईभन्दा बढी छैन कोही पुराना भएर प्रयोग गर्न रोक लागइएको हो कसैमा फोहोर जम्मा भएको छ दुर्गममा भएकाले पनि शिक्षा कार्यालयले हाम्रो कुरा सुन्दैन, चर्पी मर्मतका लागि समेत नदिएकाले यस्तो अवस्था आइलागेको शिक्षक तिलक दौल्याले बताए। उनले भने– ‘विद्यार्थीलाई चर्पी प्रतिबन्ध छैन। एकै चर्पी भएकाले लाइनमा बस्नुपर्छ। पानीको अभाव छ। विद्यार्थीलाई खाल्डोको दिसा सफा किन गराउने भन्ने हो। अब आन्तरिक स्रोतबाट भए पनि चर्पीको मर्मत गरिन्छ।’ विद्यालयमा करिब ६ सय विद्यार्थी छन्।

‘कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन, विद्यालयको अवस्था बुझ्दै छु –अहिलेसम्म करिब १५ लाख रकम दुर्गा माविमा चर्पी निर्माण र मर्मतका लागि गएको जिल्ला शिक्षा अधिकारी पदमराज जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्