सुकेटार विमानस्थलमा जहाज नचल्दा यात्रु अन्योलमा



 

रविन भट्टराई, ताप्लेजुङ
नेपालीहरूको महान् चाड दशैं नजिकिनै लाग्दासमेत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जहाज सञ्चालन नहुँदा यात्रु अन्योलमा परेका छन्। मौसममा आएको खराबीका कारण गत जेठ अन्त्यदेखि रोकिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा यात्रु मर्कामा परेका हुन्।

दशैंका लागि टिकट खुल्ने समय भए पनि हालसम्म मौसमका कारण जहाज उडाउने नउडाउने नै अन्योल रहेकाले टिकट बुकिङ नभएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताए। दोहोरो धावन मार्ग बनाई कालोपत्रे गरेर तयार पारिएको विमानस्थल पनि यस बेला सञ्चालनमा नहुँदा आफूहरू मारमा परेको ताप्लेजुङ स्थानीय यमन पालुङ्वाले गुनासो गरे।

सुकेटारमा चार वर्षअघिसम्म दक्षिणी मोहडाबाट मात्र जहाज अवतरण गराउन सकिन्थ्यो। तर, अहिले उत्तर दक्षिण दुवै मोहडाबाट जहाज अवतरण गराउन सकिन्छ। अझ त्यसपछि विमानस्थललाई कालोपत्रे पनि गरेर बाह्रै महिना सञ्चालन हुने बनाइएको भनिए पनि चाड पर्वको समयमा समेत सञ्चालनमा नआउँदा यात्रुहरू आक्रोशित बनेका छन्।

मेची राजमार्गमा पहिरो खसिरहने भएकाले ताप्लेजुङबाट विराटनगर र काठमाडौं जाने र आउने यात्रुले हवाई सेवा नै रोज्ने गरेका छन्। विमानस्थल कालोपत्रे भएपछि नेपाल वायुसेवा निगमबाहेक निजी कम्पनी गोमा र तारा एयरले पनि उडान सञ्चालनमा ल्याएका थिए। साताको मंगलबार र शुक्रबार गोमा एयर तथा शुक्रबार तारा एयरले उडान भर्दै आएकोमा हाल ती उडान पनि बन्द छन्। नेपाल वायुसेवा निगमले पनि काठमाडौं–ताप्लेजुङ मात्र सेवा दिँदै आएको थियो। २०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थललाई निर्माण भएको चार दशकपछि झन्डै ९ करोडको लागतमा कालोपत्रे गरिएको हो। नागरिक उड्डयन प्राधिकरणबाट स्तरोन्नतिको काम भएको सुकेटार विमानस्थललाई तीन वर्षअघि ६ सय मिटरबाट बढाएर ९ सय ३० मिटर बनाइएको थियो। कञ्चनजंघा र पाथीभराको मुख्य प्रवेशद्वारका रूपमा सुकेटार विमानस्थल समुद्र सतहबाट २ हजार ४ सय ८० मिटर उचाइमा छ।

प्रतिक्रिया दिनुहोस्