बाबुलाई क्यान्सर, छोरीको भर्ना भएन



हेटौंडा,(नेस) । उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङका सरोजकृष्ण गमाल तीन वर्षदेखि क्यान्सरले थलिएपछि उनकी ४ वर्षीया छोरीको भर्ना हुन सकेको छैन ।
बाबुको उपचारमा धेरै रकम खर्च भएपछि छोरी अलिशालाई भर्नासमेत गर्न नसकेको उनकी आमा अम्बिका गमालले बताइन् । ‘पतिको उपचारमा धेरै रकम खर्च हुन्छ, त्यसैले छोरीलाई भर्ना गर्न सकेकी छैन,’ गमालले भनिन् ।
अलिशा इमाडोलस्थित होमभ्याली एकेडेमीको नर्सरीमा पढिरहेकी छन् । तर, उनको भर्ना भने अझै भएको छैन । विद्यालयले पठाएको बिलअनुसार ८ हजार ६२ रुपियाँ तिर्नुपर्ने देखिन्छ । बाबुलाई महिनैपिच्छे हस्पिटल भर्ना गर्नुपर्ने भएपछि अलिशाको पढाइ छुट्ने गरेको छ ।
स्थायी घर मकवानपुरको चित्लाङ भए पनि गमाल ललितपुरको इमाडोलमा बस्दै आएका छन् । सामान्य मिठाइ पसलबाट गुजारा चलाउँदै आएका उनलाई अचानक छातिको क्यान्सर भएपछि उनी दुई वर्षदेखि जावलाखेलस्थित नेसनल क्यान्सर हस्पिटलमा उपचार गर्दै आएका छन् ।
उनलाई तीन हप्ताको एकपटक केमो चलाउनुपर्छ । एक पटक केमो चलाउन १५ हजार रुपियाँभन्दा बढी खर्च लाग्ने अम्बिकाले बताइन् । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर मेटिन लागेको भन्दै गमाल दम्पत्ति चिन्तित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्