नवनिर्वाचित जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण



नेपाल समाचारपत्र, म्याग्दी । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले जिल्लाको विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान र बधाइका साथै प्रशिक्षण दिन थालेको छ । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावमा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।
मङ्गलबार र बुधबार पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको नेकपा एमाले म्याग्दीले जनाएको छ । कार्यक्रमको अवसरमा स्थानीय अगुवा कार्यकर्ता भेला गरी स्थानीय तहमा भएको समस्या, जनताको चाहना र पार्टीका गतिविधिका बारेमा अन्तत्र्रिmया र छलफल समेत गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष श्रेष्ठ, पूर्व अञ्चल कमिटी सदस्य खुमबहादुर बानियाँ, जिल्ला कमिटी सदस्य होमबहादुर थापा लगायतले निर्वाचित प्रतिनिधिलाई अबिरको टिका, फुलमाला र खादा लगाई कार्यसफलताको शुभकामना दिनुभएको थियो । निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै सांसद नवराज शर्माले जनताको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । कार्यक्रमको अवसरमा सांसद शर्मा, जिल्ला अध्यक्ष श्रेष्ठ र अञ्चल सदस्य बानियाँले स्थानीय तहलाई दिएको अधिकार, सङ्घीयता, जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, एमालेका गतिविधि लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए ।
यसअघि नेकपा एमालेले मालिका गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बधाई, सम्मान तथा प्रशिक्षणको कार्यक्रम गरिएको जानकारी दिएको छ । एमाले वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापा, सांसद नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, सचिवालय सदस्य प्रमोद श्रेष्ठले बधाई तथा सफलताको शुभकामनासहित प्रशिक्षण दिएका थिए । सोही अवसरमा तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष भीमप्रसाद गौतम, नेपाली कांग्रेसका कार्यकर्ता डण्डपाणि परियार र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर विक एमालेमा प्रवेश गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्