खोला पसेका ५ ट्रयाक्टर आरक्षमा



हेटौंडा, (नेस) । मकवानपुरको पश्चिम क्षेत्र मनहरीबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । मध्यवर्ती उपभोक्ता समिति, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको प्रतापपुर पोष्टको समन्वयमा ट्रयाक्टरहरु नियन्त्रणमा लिइएको हो । उक्त क्षेत्र पर्सा आरक्षअन्तर्गत् मध्यवर्ती क्षेत्रमा पर्दछ ।

सरकारले असार, साउन र भदौ महिनाभर प्राकृतिक स्रोत उत्खनन् र ओसारपसारमा रोक लगाए पनि लुकिछिपी बालुवा उत्खनन् गर्न खोला प्रवेश गरेकाले नियन्त्रणमा लिइएको हो । मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष पदमबहादुर तितुङले आइतबार राति २ वटा, सोमबार राति २ वटा र मंगलबार राति एउटा ट्रयाक्टर नियन्त्रणमा लिइएको बताए ।

मंगलबार राति राप्ती बगरमा ट्रयाक्टरले उत्खनन् गरिरहेको थाहा पाएपछि गस्तीमा गएको टोलीले ना. ५ त ७५५५ नम्बर ट्रयाक्टर नियन्त्रणमा लिएको हो । गस्ती टोली गएको चाल पाएपछि अन्य ट्रयाक्टर चालकहरु ट्रयाक्टरसहित भागेका थिए । गस्तीमा प्रतापपुर पोष्टका क्याप्टेन शुभराज गुरुङ र मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष तितुङलगायत थिए । नियन्त्रणमा लिइएका सबै ट्रयाक्टरलाई कारबाहीका लागि पर्सा बन्यजन्तु आरक्षको कार्यालय आधाभार कार्यालय पठाइएको अध्यक्ष तितुङले बताए ।
इलाका प्रहरी कार्यालय मनहरीले राजमार्गछेउमा राखिएका बालुवाको डम्पिङ हटाउन थालेको छ । अब्यवस्थित डम्पिङका कारण सवारी दुर्घटना बढ्ने भएकाले हटाउन थालिएको प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । बालुवा डम्पिङ हटाउन प्रहरीले गाउँपालिका र सरोकारवालासँग समन्वय नगरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्