मकैबालि सखाप भएपछि किसानलाई परिवार पाल्ने चिन्ता



सरिता चलाउने, सल्यान । सल्यानमा जंगली बँदेलले मकैबालि नष्ट गरेपछि किसानहरु चिन्तीत बनेका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले लगाएको मकैबालीमा बँदेलले ९० प्रतिशत सम्म क्षती पु¥याएको पाइएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकाका लगाय अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको मकै खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

कपुरकोट ३ खुँङका किसान ज्योती प्रकाश ओलिले आफ्नो बारिको सबै मकैबालि बँदेलले रातीको समयमा आएर नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने– ‘मेरो १४ रोपनी बारिमा पाकेर भित्राउने बेलको सबै मकै बँदेलले खाएर सखाप पारिदियो, अव के खाएर बाँच्ने हो, चिन्ता बढेको छ ।’ दिनभर जंगलमा गएर बस्ने र राती भएपछि हुलका हुल बँदेल मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको उनले जनाए ।

वर्षेनी अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको उनले जनाए । बँदेलले मकै संगै यस क्षेत्रमा लगाएको वेमौषमी तरकारि पनि खाइदिने गरेको छ ।

मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको अर्का किसान लालसिंघ घर्तीले जनाए । उनले भने– ‘शुरुमा छिमेकीको बारिमा बँदेल लाग्यो, त्यताको सबै सखाप पारेपछि अहिले मेरो बारीमा पसेर मकैबालि सखाप पार्न थालेको छ ।’

यस्तै पाखापानीका किसान द्रोण बुढाथोकीको मकै पनि बँदेलले नष्ट गरिदिएको छ । ६ महिनालाइ खान पुग्ने मकै बँदेलले नष्ट गरिदिएपछि अव कसरि परिवार पाल्ने भन्ने चिन्ताले किसानलाइ पिरोल्न थालेको छ ।

जंगली बँदेलको चोरी सिकारी गर्न पनि नपाइने तथा सामुदायिक वनको विकास सँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्