सुकेटार विमानस्थलमा जहाज नचल्दा यात्रु अन्योलमा



रविन भट्टराई, ताप्लेजुङ ।
नेपालीहरुको महान चाड दशै नजिकिनै लाग्दा समेत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलमा जहाज सञ्चालन नहुँदा यात्रु अन्योलमा परेका छन् । मौषम आएको खराबिका कारण गत जेठ अन्त्य देखि रोकिएको सेवा हाल सम्म पनि सञ्चालन नहुँदा यात्रु मर्कामा परेका हुन् ।

 

दशैको लागि टिकट खुल्ने समय भए पनि हाल सम्म मौषमका कारण जहाज उडाउने नउडाउने नै अन्योल रहेकाले टिकट बुकिङ नभएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताए ।

 

दोहोरो धावन मार्ग बनाई कालोपत्रे गरेर तयार पारिएको विमानस्थल पनि यस बेला सञ्चालनमा नहुँदा आफूहरू मारमा परेको ताप्लेजुङ स्थानिय यमन पालुङ्वाले गुनासा गरे ।

सुकेटारमा चार वर्षअघिसम्म दक्षिणी मोहडाबाट मात्र जहाज अवतरण गराउन सकिन्थ्यो । तर, अहिले उत्तर दक्षिण दुवै मोहडाबाट जहाज अवतरण गराउन सकिन्छ । अझ त्यसपछि विमानस्थललाई कालोपत्रे पनि गरेर बाह्रै महिना सञ्चालन हुने बनाईएको भनिए पनि चाड पर्वको समयमा समेत सञ्चालनम नआउँदा यात्रुहरु आक्रोसित बनेका छन् ।

 

मेचि राजमार्गमा पहिरो खसिरहने भएकाले ताप्लेजुङबाट विराटनर र काठमाडौ जाने र आउने यात्रुले हवाई सेवानै रोज्ने गरेका छन् । विमानस्थल कालोपत्रे भएपछि नेपाल वायुसेवा निगमबाहेक निजी कम्पनी गोमा र तारा एयरले पनि उडान सञ्चालनमा ल्याएका थिए ।

 

साताको मंगलबार र शुक्रबार गोमा एयर तथा शुक्रबार तारा एयरले उडान भर्दै आएकोमा हाल ती उडान पनि बन्द छन् । नेपाल बायुसेवा निगमले पनि काठमाडौ–ताप्लेजुङ मात्र सेवा दिदै आएको थियो ।

 

२०२८ सालमा निर्माण भएको सुकेटार विमानस्थललाई निर्माण भएको चार दशकपछि झन्डै नौ करोडको लागतमा कालोपत्रे गरिएको हो । नागरिक उड्डयन प्राधिकरणबाट स्तरोन्नतिको काम भएको सुकेटार विमानस्थललाई तीन वर्षअघि ६ सय मिटरबाट बढाएर नौ सय ३० मिटर बनाइएको थियो । कञ्चनजंघा र पाथीभराको मुख्य प्रवेशद्वारका रूपमा सुकेटार विमानस्थल समुद्र सतहबाट दुई हजार चार सय ८० मिटर उचाइमा छ ।

प्रतिक्रिया दिनुहोस्