हारपछि नेपाल कठिन मोडमा



स्ट्राइकर विमल घर्ती मगर छैठौं अन्तर्राष्ट्रिय गोल गर्ने क्रममा। तस्वीरः उजोल डंगोल

 

कविरस शर्मा, काठमाडौं

एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को खेलमा नेपाल ताजिकिस्तानसँग हारेपछि कठिन मोडमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’मा पहिलो हाफमै दुई गोल बेहोरेपछि घरेलु टोली नेपाल ताजिकिस्तानसँग २–१ ले हार्न बाध्य भएको हो। घरेलु मैदानमा पराजित भएपछि नेपाली टोली एएफसी एसियन कप छनोटमा समूह ‘एफ’को पुछारमा पुग्दै कठिन मोडमा उभियो। उक्त जितपछि पहिलो अंक जोडेको ताजिकिस्तान समूहको तेस्रो स्थानमा उक्लन सफल भएको छ।

खेलको २६औं मिनेटमा जालीलोभले गोल गर्दै ताजिकिस्तानलाई खेलमा अग्रता दिलाएका थिए। उमरवोइ प्रविनोभको कर्नरबाट उपलब्ध बलमा प्रहार गरेका उनी विफल भए पनि हुलमुलको अवस्थामा पुनः गरेको प्रहारले जाली चुमेको थियो। उनको पहिलो प्रहारलाई नेपाली गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए। पहिलो गोल बेहोरेको चार मिनेट नबित्दै नेपालले दोस्रो गोल बेहोरेको थियो।

खेलको ३०औं मिनेटमा नेपाली गोलरक्षक किरणलाई जिल्लाउँदै भासिव दिलसुडदले ताजिकिस्तानका लागि दोस्रो गोल सम्भव पारे। पहिलो हाफसम्म २–० ले अघि रहेको ताजिकिस्तानविरुद्ध दोस्रो हाफमा नेपालले सुधारिएको खेल प्रदर्शन गर्यो। जसअनुसार नेपालले एक गोल फर्काउन सफल भए पनि हार भने टार्न पर्याप्त बनेन। नेपालका लागि युवा स्ट्राइकर विमल घर्ती मगरले एक गोल फर्काउन सफल भएका हुन्। खेलको ३९औं मिनेटमा नवयुग श्रेष्ठलाई स्थापन्न गर्दै मैदान प्रवेश गरेका विमलले खेलको ६१औं मिनेटमा गोल गर्दै नेपालको आशा जगाएका थिए। अञ्जन विष्टद्वारा उपलब्ध बललाई नियन्त्रणमा लिँदै ताजकिस्तानका गोलरक्षक माकामोभा अगाडि बढेको अवस्थामा विमलले चिप गर्दै गोल गरेका थिए।

ताजिकिस्तानको खेलमार्फत ‘डेब्यू’ गरेका प्रिन्स जर्ज कार्कीको दुईवटा प्रहार खेर गएको थियो। पहिलो हाफको नवौं मिनेटमा एलिभको प्रहारलाई किरणले पन्च गरेर जोगाएका थिए। खेलको दोस्रो मिनेटमा नै नेपालले गोलका लागि गरेको एउटा आक्रमण विफल भएको थियो। करिब २५ यार्डको दूरीबाट नवयुग श्रेष्ठको प्रहार कमजोर बनेको थियो। पछिल्लो खेल प्रतिबन्धमा रहेका मिडफिल्डर विक्रम लामा मंगलबारको खेलमा पहिलो रोजाइमा पर्न सकेनन्। समूह ‘एफ’मा दुई जितसहित फिलिपिन्स अंक तालिकाको शीर्षस्थानमा छ भने यमन दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्