महको म सार्वजनिक



 

ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा महको म मंगलबार लोकार्पण गरिएको छ। उनको आत्मकथा उनकै जोडी अर्का हास्य अभिनेता हरिवंश आचार्यले विभिन्न कलाकारको उपस्थितिमा विशेष कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्।

फाइन प्रिन्टसले बजारमा ल्याएको पुस्तक मदनकृष्णले झण्डै ६ वर्ष लामो समयको अन्तरालमा तयार भएको हो। पुस्तक लेखनको अवधिमा श्रीमती क्यान्सरबाट पीडित भएपछि समय लम्बिएको लेखक श्रेष्ठले बताए। पत्नी यशोदा सुवेदीसँग विवाह भएको ४४औं वर्षगाँठ पारेर हास्यव्यंग्य अभिनेता श्रेष्ठले मंगलबार आफ्नो आत्मकथा बजारमा ल्याएका हुन्।

कार्यक्रममा बोल्दै उनका जोडी हरिवंश आचार्यले मंगलबारका दिन मदनकृष्णको पुस्तक प्रकाशन हुनु निकै मंगलमय भएको बताए। कार्यक्रम अवधिभर निकै ठट्यौली पारामा प्रस्तुत भएका आचार्यले भने– ‘म दाइ मदनकृष्ण श्रेष्ठलाई जीवनदाइको रूपमा लिन चाहन्छु र पुस्तकको सफलताको पनि कामना गर्दछु। साथी भनेको कि उखु कि चप्पल हो। मदन दाइचाहिँ उखु हो। उहाँको कुनै नराम्रो पक्ष छैन, त्यसले उहाँ गुलियो दाइ हो।’ ३७ वर्ष लामो यात्राका क्रममा आफूले मदनकृष्णलाई निकै नजिकैबाट नियालेको र उनको आत्मकथालाई एउटा दस्तावेजको रूपमा लिन उपयुक्त हुने हरिवंशले चर्चा गरे।

मदनकृष्णका कलाकार पुत्र यमन श्रेष्ठले किताब लेख्नजत्तिकै गाह्रो त्यसको शीर्षक राख्न पनि भएको अनुभव सुनाउँदै नभएको भए यहाँ माया भन्ने कुरा बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै मदनपुत्री सह्राना श्रेष्ठले पनि पहिलो दिन तिमीलाई देख्दा बोलको गीत प्रस्तुत गरिन्।

पुस्तकको समीक्षा गर्दै आख्यायानकार तथा समीक्षक डा. रवीन्द्र समीरले पछिल्लो समयमा आत्मकथा निकाल्ने प्रचलनको बाढी आए पनि महको म आत्मकथा नितान्त फरक र नेपाली साहित्यका लागि अनुपम उपहार हुने चर्चा गरे। ‘७६ परिच्छेद रहेको आत्मकथा छोटा, मीठा र गहकिला छन्। कतिपय आत्मकथामा लेखकले आफ्नो बढाई–चढाई गरेर आफूलाई उँचो देखाउन प्रयास गर्ने भए पनि यो पुस्तकमा श्रेष्ठ सानो भएर उभिएका छन्’ –डा. समीरले भने। मदनकृष्णले आफ्नो आत्मकथा प्रकाशित हुनु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए। ‘यसलाई म मेरो जिन्दगीको महत्त्वपूर्ण दस्तावेजका रूपमा लिन चाहन्छु –उनले भने। पुस्तक लेखनका क्रममा आफूलाई सहयोग गर्नै सबैलाई सम्झिँदै उनले निकै कठिन समय र उतारचढावका बाबजुद सबैको मायाका कारण पुस्तक तयार हुन सकेको बताए। कार्यक्रममा उनले धेरै माया नदेऊ हजुर र खोलावारि खोलापारि पीपल र वर बोलको गीत प्रस्तुत गर्दा सबैले ताली बजाएर साथ दिएका थिए।

महको म आत्मकथामा मदनकृष्णले उनको बाल्यकाल, प्रारम्भिक संघर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका आरोह–अवरोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरी, जागिरे जीवनका बारेमा प्रकाश पारेका छन्। नेपाली भाषाको साथै नेवारी भाषाका प्रस्तुतिहरुमा पनि उत्तिकै नाम कमाएका मदनकृष्णको यो पुस्तक उनको दोस्रो कृति हो। यसअघि उनको साझा पृथ्वी शीर्षकको कृति बजारमा आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्