कोरियाली प्रायद्विप विवाद, उत्तर कोरियाले घाँस खान्छ, तर परमाणु कार्यक्रम छोड्दैनः पुटिन



सियामेन, (एजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु व्यर्थ भएको प्रतिक्रिया दिएका छन्। उनले भने– ‘उत्तर कोरिया घाँस खाएर गुजारा गर्छ तर आफ्नो परमाणु कार्यक्रम छोड्दैन।’

अमेरिकाले सोमबार उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनका लागि संयुक्त राष्ट्र संघमा नयाँ प्रस्ताव ल्याउने जनाएको थियो। हालै मात्र उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको थियो।

पुटिनले सैन्य उन्मादलाई उत्कर्समा पुर्याउनु विश्वमा विध्वंश निम्तिन सक्ने चेतावनी दिँदै उत्तर कोरिया संकटको समाधान कूटनीतिक मात्र भएको उनले बताए।

यसैबीच उत्तर कोरियाका मुख्य सहयोगी चीनले प्योङयाङसँग वार्ताका लागि फर्कनुपर्ने बताए। पुटिनले चीनको सियामेनमा आयोजना भइरहेको ब्रिक्स सम्मेलनका क्रममा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका थिए। उनले उत्तर कोरियाको परमाणु परीक्षण ‘उक्साउने’ खालको भएको बताए। ‘अब कुनै प्रकारको प्रतिबन्ध बेकार र निस्प्रभावी हुनेछ’, उनले अगाडि भने– ‘उसले जबसम्म सुरक्षित महसुस गर्दैन तबसम्म परमाणु कार्यक्रम रोक्नुको सट्टा घाँस खान मन पराउनेछ। सुरक्षाको भावना कसरी स्थापित हुनेछ त? अन्तर्राष्ट्रिय कानुनको बहाली गरेर हामी सबैले वार्तालाई बढावा दिनुपर्छ।’ मानवीय पक्षको प्रसंग जोड्दै कडा प्रतिबन्धले लाखौं नागरिक प्रभावित हुने उनले बताए।

सोमबार संयुक्त राष्ट्रमा अमेरिकाको राजदूत निक्की हेलीले उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्धबाट कूटनीतिकरूपमा समस्या हल गर्न मदत मिल्ने बताएकी थिइन्। अमेरिकाको उक्त प्रस्तावलाई जर्मनीले समर्थन गरेको थियो। जर्मन चान्सलर एन्जेला मर्केले पनि मंगलबार उत्तर कोरियाबाट लगातार अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भइरहेकाले ऊमाथि कडा प्रतिबन्ध आवश्यक भएको बताएकी थिइन्।

‘ट्रम्प मेरो दुलही होइन’
रुसी राष्ट्रपति म्लादिमिर पुटिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नबाट पछि हटेको जनाइएको छ। मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्पको अपरिपक्वताबाट निरास भएको हो भन्ने प्रश्नको जवाफ पुटिनले दिएनन्।
रुसी समाचार एजेन्सीले दिएको समाचारमा पुटिनले ‘ट्रम्प मेरो दुलही होइन, र म उसको दुलाहा होइन’ टिप्पणाी गरेको उल्लेख गरेको छ।

ट्रम्पविरुद्ध महाअभियोग लगाइएमा रुसले कस्तो महसुस गर्छ भन्ने प्रश्नको जवाफमा अमेरिकाको आन्तरिक राजनीतिलाई लिएर छलफल गर्नु रुसका लागि पुरै गलत कुरा भएको पुटिनले बताए।

गतवर्ष ट्रम्प विजय भएपछि रुसी अधिकारीहरू खुसी भएका थिए र पुटिनले उनलाई रुससँग सम्बन्ध सुधार गर्न इच्छुक व्यक्ति भएको बताउँदै प्रशंसा गरेका थिए। यद्यपि रुसमाथि थप अमेरिकी प्रतिबन्ध र रुसी कूटनीतिक नियोगहरू बन्द गर्ने अमेरिकी निर्णयले दुई देशबीचको दूरी अझै बढेको महसुस गरिएको छ।
अमेरिकाका लागि थप ‘उपहार प्याकेज’ तयार छ

उत्तर कोरियाको पछिल्लो र अहिलेसम्मको सबैभन्दा ठूलो परमाणु परीक्षणलाई लिएर अन्तर्राष्ट्रियस्तरमा हल्लीखल्ली मच्चिरहेका बेला उसका कूटनीतिज्ञहरूले मंगलबार अमेरिकामा पठाउन ‘थप उपहारको प्याकेज’ तयार रहेको बताएका छन्।
जेनेभामा राष्ट्र संघ कार्यालयका लागि उत्तर कोरियाका राजदूत हान ताय सोंगले उसको देशले परमाणु परीक्षण गरेको दुई दिनपछि राष्ट्र संघको प्रायोजनमा भएको निशस्त्रीकरण सम्मेनलमा सम्बोधन गरेका थिए।

सम्मेलनमा हानले भने– ‘दुई दिनअगाडि मात्रै सेप्टेम्बर ३ मा डीपीआरकेले सामरिक परमाणु शक्ति निर्माणका लागि अन्तरमहाद्विपीय ब्यालेस्टिक रकेटका लागि एक हाइड्रोजन बमको सफल परीक्षण गरेकोमा म गौरन्वान्वित छु।’
‘मेरो देश डीपीआरकेले हालै चालेको आत्मसुरक्षाको कदम अरूलाई नभएर अमेरिकाकै लागि उपहार प्याकेज हो।’ –हानले भने।

डीपीआरकेलाई दबाब दिन निरर्थरक उक्साहटजन्य क्रियाकलापका लागि अमेरिकाले आफ्नो देशबाट थप ‘उपहार प्याकेज’ पाउने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्