उत्कृष्ट निजी विद्यालय



 

नेपाल समाचारपत्र
पर्वत
पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित नमुना अंग्रेजी आवासीय मावि प्रदेश नं. ४ अन्तर्गत सञ्चालित संस्थागत विद्यालयमध्ये उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत हुने भएको छ। शिक्षा मन्त्रालयले देशभरका सामुदायिक तथा निजी (संस्थागत) विद्यालयमध्ये उत्कृष्ट २० विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नमुना छनोट भएको हो।

अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तहअनुसार अध्यापन गराइएका विषयका आधार मानेर विद्यालय छनोट गरिने मन्त्रालयले जनाएको छ। देशका करिब ३० हजार सामुदायिक र करिब ७ हजार निजी विद्यालयमध्ये २० छानिएका हुन्। मन्त्रालयका अनुसार सामुदायिकतर्फ ११ र निजीतर्फ ९ लाई छनोट गरिएको हो। कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजीतर्फ बागबजारस्थित काठमाडौं मोडेल मावि छनोट भएका छन्।

कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिकतर्फ बुटवलको कालिका मावि र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिर छनोट भएका छन्। दुवै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपियाँ प्रदान गरिनेछ। प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गरेबापत सामुदायिकतर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि छन्। सामुदायिकतर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम मावि छन्। दुर्गमबाट सामुदायिकतर्फ हुम्लाको महाबुद्ध मावि छनोट भएको छ। पुरस्कार राशि १ लाख रुपियाँ छ।

यसपटक निजीतर्फ प्रदेश स्तरमा दिइने पुरस्कारका लागि प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना अंग्रेजी आवासीय मावि परेका छन्। निजीतर्फ नै प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुल छन्। प्रदेश स्तरमा छानिएका सबै विद्यालयलाई सिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपियाँ प्रदान गरिने भएको छ।

पुरस्कारका लागि विद्यालय छनोटको प्रकाशित सूचनामा आफ्नो विद्यालयको नाम पुरस्कृत हुने सूचीमा परेपछि नमुना अंग्रेजी आवासीय माविका अध्यक्ष यमप्रसाद शर्माले भने–‘विद्यालयले गरेको मिहिनेतअनुसार प्रतिफल पाउँदा खुसी लागेको छ। यसको श्रेय सम्पूर्ण मिहिनेती र इमान्दार सहकर्मी, व्यवस्थापन समिति, अभिभावक र शुभचिन्तकलाई दिन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्