शताब्दि पुरुष जोशी अभिनन्दन भदौ ३० मा हुने



 

काठमाडौं, (नेस)
वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीको भदौ ३० गते शुक्रबार अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। नेवाः जागरण मञ्चको संयोजनमा लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी सम्मान’ समितिले उक्त अभिनन्दन कार्यक्रम भव्यरूपमा सम्पन्न गर्नका लागि उपसमिति गठन गरेको छ। डा. जोशीलाई भव्यरूपमा सम्मान गर्नका लागि वसन्तपुरबाट दिउँसो १ बजे नेपाली सेनाको बग्गी एवं ब्यान्डसहितको टोलीले र्याली नगर परिक्रमापश्चात् राष्ट्रिय सभागृहमा अभिनन्दन गरिने कार्यक्रम रहेको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा हुनलागेको उक्त सम्मान कार्यक्रममा सांस्कृतिक बाजागाजाका साथ विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन हुने तथा धिमे, बाँसुरी, धाः बाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम र धार्मिक विधिअनुसार सम्मान गरिने कार्यक्रम रहेको जानकारी समितिका सदस्य सुजीव वज्राचार्यले दिएका छन्। उक्त कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको सेरोफेरोमा लिखित कविता वाचन गर्नुहुने छ।

कार्यक्रममा सत्यमोहन जोशीको जीवनी तथा उहाँले अहिलेसम्म गर्नुभएको योगदानको झलकदेखि उहाँद्वारा लिखित पुस्तकहरूको प्रदर्शनी पनि हुनेछ।

सम्मान एवं अभिनन्दन कार्यक्रम भव्यरूपमा मनाउनका लागि गठित आर्थिक समिति, महिला परिचालन समिति, हल व्यवस्थापन समिति, संघ–संस्था प्रतिनिधिहरूसँग छलफल बैठक भइसकेको छ भने विभिन्न उपसमितिको बैठक पनि हुने भएको छ। यही क्रममा, विभिन्न संस्थाबाट सम्मान कार्यक्रममा सम्मान अर्पणको विषयमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्