बुढेसकालको सहारा सियो र धागो



 

ललित सिहं, बझाङ
भनिन्छ, बुढेकालमा छोरा बुहारीको सहारा चाहिन्छ उमेर छँदा गरेको कमाइले बुढेसकालमा बसेर खान पाइन्छ। यसको ठीक उल्टो यहाँकी एक वृद्ध्र महिला भने बुढेकालमा सियो र मेसिनको सहारामा जीवन चलाइरहेकी छन्।

दुर्गाथली गाउँपालीका ७ की ७३ वर्षीया किटिदेवी दर्जी आरामले बस्ने समयमा पनि सियो र मेसिनको सहारा लिएर बुढेसकालमा आत्मार्निभर बन्दै जीवन चलाइरहेकी हुन्।

काम नगरे बिहानबेलुका हातमुख जोडन पाइँदैन । सँगैका सहेंली कतिजनाको मृत्यु भइसकेको छ भने कोही थलिएका छन्। मैले भने ७३ बसन्त पार गर्दासमेत जीवन सहाराको रूपमा तोतेबोली बोल्दै बोल्ने उमेरमा माइतमा सिकेको सिपको प्रयोग गर्न सियोमा धागो राख्दै मेसिन जोत्न थालेको किटिदेवी दर्जीले बताइन्।

उनले भनिन्– ‘सिप भएको मान्छे कहीं भोकै बस्नुपर्दैन अहिले पनि दिनमा ३ सयदेखि ५ सम्म कमाइ गर्ने गरेकी छु। मेरो कमाइ देखेर छोराबुहारीले पनि हेला हैन माया गर्ने थालेका छन्। काम गर्दैमा मान्छे सानो हुँदैन। बुढेसकालमा काम गर्दा रगत सञ्चालन भएर निरोगी पो भइन्छ। आँखा निकै तेजिला छन् उमेर छँदै सियोमा धागो जोडन सक्छु।’

बाल्यकालमा सिकेको सिप र बिहान धोएको मुख कहिले खेर जाँदैन भन्ने उक्तिलाई आत्मासाथ गर्दै किटिदेवी दर्जीले ५ वर्षीया नातिनीलाई कपडा सिलाउन थालेकी छन्, पढेलेखेको भए अक्षर चिनाउने थिएँ पढेलेखेको छैन आफूसँग भएको सिप नातिनीलाई सिकाउने गरेको उनको भनाइ छ। छोरोले कपडा काटिदिन्छ मैले सिलाउने गरेकी छु कहींकतै टाँक लगाउनुपरे नातिको सहारा चाहिने हुन्छ।

७ जनाको परिवार छ जग्गा जमीनबाट उब्जेको अन्नले १ महिना खान पुग्दैन सिलाइ कटाइबाट आएको पैसाले परिवारको खर्च चलेको उनका छोरा ४२ वर्षीया तुलाराम दर्जीले बताए।उनले भने– ‘घर अरुको हो महिनामा १ हजार भाडा तिर्ने गरेका छौं। आमाको मिहेनेत देखेर सबैजनालाई अचम्म लाग्ने गरेको छ।’

कसैलाई बरदान हुन्छ कसैलाई सराप ।मैले लौरोको सहारा लिन थालेको १३ वर्ष भयो कमाइ नहुने भएपछि घरमा सधैं कलह हुन्छ तर किटि दर्जीले भने उमेर छिपिँदासमेत आफ्नै मिहेनेतले जीवन चलाइरहेको देख्दा खुसी लागेको स्थानीय ७१ वर्षीया चक्र दौल्याले बताए। उनले भने– ‘सिप भएको मान्छे उमेर छिपिँदासमेत सम्मान पाउँदोरहेछ।’

प्रतिक्रिया दिनुहोस्