ब्राउनसुगर खान होटलको कोठा बुक



नेपाल समाचारपत्र, बाँके । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट किनेर ल्याउने ब्राउनसुगर खानका लागि प्रयोगकर्ताले होटलको कोठा लिने गरेको पाइएको छ ।
बाहिर बसेर खादा प्रहरीले थाहा पाउने भएकाले प्रयोगकर्ताले होटलको कोठा बुक गर्ने गरेको पाइएको छ । रुपैडिहामा सहजै पाउने ब्राउनसुगरलाई लुकाईपिछाई नेपालगञ्ज ल्याएर होटलमा बसेर खाने गरिएको हो ।
बाँके प्रहरीले बसपार्कको एक होटलबाट ब्राउनसुगर खादाखादै तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । बर्दियाका सुमित पहाडी र मोविन शर्मा तथा कैलालीका विशाल श्रीपाइली होटलमा कोठा बुक गरेर ब्राउनसुगर खाइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनीहरुका साथबाट ६ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
हुन त केही महिना अघि कोहलपुरको एक होटलमा बसेर ब्राउनसुगर खाइरहेका आधा दर्जनमध्ये एकजनाको मृत्यु भएको थियो । होटलको कोठा बुक गरेर ब्राउनसुगर खाना बसेका उनीहरुमध्ये एकजनाको बढी डोज भएर मृत्यु भएको थियो ।
रुपैडिहामा मात्रै होइन, नेपालगञ्जमा पनि रातविरात ब्राउनसुगर पाइने स्रोतहरु बताउँछन् । ‘जतिबेला भने पनि ब्राउनसुगर पाइन्छ, स्रोतको भनाई छ । कोहलपुरको होटलमा बसेका युवाहरुले राती ११ बजे नेपालगञ्ज आएर थप डोज ब्राउनसुगर लगेका थिए ।
प्रहरीले रातीमा हिड्दा या चोक, गल्लीहरुमा निगरानी बढाउने भएपछि प्रयोगकर्ताहरु सुरक्षित रहन होटलमा कोठा लिएर बस्ने गरेका हुन् । ‘कोठा लिएर बसेपछि ब्राउनसुगर पनि खाने भए, अरु पनि मस्ती गर्ने भए, जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले भन्नुभयो । बाँके प्रहरीले पक्राउ परेका तीनै जनालाई मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्