फिदिममा फक्ताङलुङ आइडल



 

फिदिम, पाँचथर, (नेस)। लोप हुन लागेका लिम्बू जातिको संस्कृतिमा आधारित लिम्बू भाषाका मौलिक गीतसंगीतको संरक्षण गर्ने उद्देश्यले पाँचथरको फिदिममा फक्ताङलुङ आइडलको पहिलो चरण शुरू भएको छ।

फक्ताङलुङ सयङ केन्द्रीय समितीको आयोजनामा शुरू भएको पहिलो चरणको आइडलमा पाँचथरबाट सहभागी भएका २८ मध्ये १९ जना दोस्रो चरण्मा प्रवेश गरेका छन्। दोस्रो चरणको अडिसन आगामी असोज ३ गते सुनसरीको धरानमा हुने समितिका अध्यक्ष भवानी सम्बाहाम्फेले बताए।

लिम्बू जातिहरूको बाहुल्यता रहेको पूर्वका ९ जिल्ला र काठमाडौं उपत्यकामा गरी १० स्थानमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपियाँसहित ३ वटा गीत रेकर्ड र विदेश यात्राको अवसर प्रदान गरिने महासचिव कञ्चन थुलङले बताए।

प्रतियोगितामा द्वितीय हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने उनले बताए। लिम्बू जातिभित्र पाइने संस्कृतिको धरोहरका रूपमा रहेको पालाम, ख्याली, हाक्पारे, केसाम, तुहा र ताम्केजस्ता लिम्बू संस्कृतिका धरोहरहरूलाई बचाउन यो प्रतियोगिताले सघाउ पु¥याउने लिम्बू संस्कृतिका अभियान्ता यासेली योङहाङ बताउँछन्।

यसअघि गत भाद्र १३ गते ताप्लेजुङको फुङलिङमा सम्पन्न अडिसनबाट ८ जना छनोट भएका थिए भने गत भाद्र ३ गते उपत्यकामा भएको छनोटमा १२ प्रतिस्पर्धीहरू छनोट भएका थिए। जिल्ला र उपत्यकाबाट छनोट भएकाहरूको दोस्रो चरण धरानमा र फाइनल प्रतियोगिता केही महिनापछि काठमाडौंमा हुने अध्यक्ष सम्बाहम्फेले बताए।

प्रतिक्रिया दिनुहोस्