आठ खेलाडी सम्मानित



 

काठमाडौं, (नेस)
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान–२०७४ बाट सम्मान गरेको छ। सम्मानित हुने खेलाडीमा एथ्लेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी मनिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङ्शल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली रहेका छन्। भलिबलका दुवै खेलाडीले समान ५०–५० हजार तथा बाँकीले जनही १ लाखसहित सम्मानपत्र पाए।

सम्मानित प्रशिक्षक ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले जनही १ लाख रुपियाँसहित सम्मानपत्र पाए। उत्कृष्ट खेल संघका रुपमा सम्मान गरिएको नेपाल भारोत्तोलन संघलाई पनि १ लाख दिइयो।

यसैगरी आर्थिक वर्ष २०७३⁄७४ सालमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई पनि नगदसहित सम्मान गरियो। उक्त आर्थिक वर्षमा पदक प्राप्त गर्न सफल ३ सय १६ खेलाडीलाई नगदसहित सम्मान गरिएको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन्।

सो अवधिमा नेपाली खेलाडीले विभिन्न खेलको व्यक्तिगत स्पर्धामा १ सय ३ स्वर्ण, ८४ रजत र ७५ कांस्य तथा टिम स्पर्धामा २८ रजत र २४ कांस्य पदक राष्ट्रलाई दिलाएका थिए। व्यक्तिगत र टिममा स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई ८ हजार र कांस्यलाई ४ हजारका दरले नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

यस्तै खेल पत्रकारहरू नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ का मुकुन्द दाहाल, नागरिक दैनिकका अजय फुयाल, बीबीसी नेपाली सेवाका निरञ्जन राजवंशी, नेपाल लाइभ अनलाइनका नवीन अर्याल तथा कान्तिपुर दैनिकका हिमेशरत्न वज्राचार्य सम्मानित भए। उनीहरूलाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्