वडा कार्यालयमा वडा सचिव नहुँदा समस्या



 

वीरबहादुर बम, मुगु
११ वडा रहेको सोरु गाउँपालिकामा सबै वडा कार्यालयमा वडा सचिव नहुँदा समस्या देखिएको छ। असारको महिना घर बिदामा गएका वडा सचिव कार्यालयमा नफर्किएपछि वडाका काम सहजरूपमा सञ्चालन हुन सकेका छैनन्। असार महिनामा वडा नं. ३ का सचिव हस्तबहादुर शाही वडा नं. ३ भिईबाट हिँडेको २ महिना बित्न लाग्दा पनि वडामा नपुग्दा जन्म, मृत्यु र विवाहलगायतका काम गर्न समस्या भएको स्थानीयबासी गोठे लावडले बताए।

सदरमुकाम गमगढीबाट विकट सोरु गाउँपालिकामा वडा त के गाउँपालिकामा समेत कर्मचारी नहुँदा सर्वसाधारर्णले पञ्जाधिकारीसम्बन्धी कामका लागि २ दिन हिँडेर सदरमुकाम गमगढी पुगेर वडा सचिव जो भेटिन्छन् तिनीबाट जन्म, मृत्यु र विवाह दर्ताको काम गराइ लामो झन्झट बेहोर्नुपरेको सोरु गाउँपालिकाका सर्वसाधारणको गुनासो रहेको छ।

हामीले वडा कार्यालय कुरिरहेका छौं तर २ महिनादेखि वडा सचिव वडामा नआउँदा हामी विकासे कामका सिफारिस, सरकारी र गैरसरकारी कार्यालयले आयोजना गरेका कार्यक्रममा सभाध्यक्ष लाग्नुबाहेक अरू कुनै काम हामीबाट हँुदैन। जन्म, मृत्यु र विवाह दर्ता र नागरिकता, राहदानीका लागि आउने जोकोहीलाई वडा सचिव आउनुभएको छैन, सचिव आएपछि आउनुहोस् हतार छ भने सदरमुकाम जानुहोस् भन्दै सेवाग्राहीलाई हामीले भन्नुपर्दा हामीलाई पनि दुःख लाग्ने जनप्रतिनिधि आउँदा पनि उस्तै समस्या भनेर स्थानीयबासी रिसाउने गरेको वडा नं. ३ का अध्यक्ष लालु धामी बताउँछन्।

‘स्थानीय चुनावपछि गाउँका विद्यालय, स्वास्थ चौकीमा केही नियमितता आए पनि वडा सचिव वडामा नआउने छोरीको जन्मदर्ता नभएर कक्षा १० को फर्म छुट्न लागिसक्यो जिल्लामा पनि सचिव छैनन् भन्छन्। गाउँका धेरै विद्यार्थी जन्मदर्ता छैन कोही जिल्लामा गएर पनि सचिव नभएको भनेर रित्तै फर्किए सचिव वडा कार्यालयमा छिटो ल्याउन वडा अध्यक्ष्यले पहल गर्नुप¥यो’ –नन्दा धामीले गाउँमा सञ्चालन गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमा बताइन्।

जननिर्वाचित जनप्रतिनिधिसँगै नयाँ सजिएका भवन र पदाधिकारी मात्र वडा कार्यालयमा दिनहुँ उपस्थित हुन्छन्। स्थानीय काम होला भनेर आउँछन् तर वडा अध्यक्ष्यले वडा सचिव नभएको भनेर सर्वसाधारणलाई फर्काएपछि स्थानीयका आशा अपेक्षामा समेत निराशा छाएको छ। ‘सोरु गाउँपालिकाको सबै वडाको समस्या वडा सचिव नभएपछि या त सदरमुकाम धाउनु या त सचिवको प्रतीक्षा गर्नु’ –वडा नं १ का सर्वसाधारण पुरन शाही बताउनुहुन्छ।

‘हामीले विगतदेखि गाविस सचिव गाउँमा बस्ने वातावरण बनाउँदा पनि गाविस कार्यालय नभएको भन्दै गाविस सचिवले सदरमुकाममा बसेर कामकाज गरे तर हाल सिंहदरबारको अधिकार गाउँमा आइसकेपछि सचिव फेरि सदरमुकाममा किन बस्नुप¥यो? त्यस्ता सचिवलाई स्थानीय सरकारले कारबाही गर्नुप¥यो’ –मुगुका पूर्वसभासद् नवराज धामी बताउनुहुन्छ।

सचिव गाउँमा नभएपछि र सोरु गाउँपालिका समेतमा कर्मचारी नभई सम्पर्क कार्यालय सदरमुकाममा स्थापना भई त्यहीं कामकाज हुँदै आएपछि स्थानीयबासीको काम सम्पन्न गर्न जनप्रतिनिधिसमेत सचिव खोज्दै सदरमुकाममै बस्नुपर्ने वडा कार्यालय गाउँमा फेरि नाम मात्रको अवस्था आउन सक्ने वडा अध्यक्षको भनाइ छ। ‘केही दिन भयो तलतिरबाट आएको केही दिनमा आफ्नो वडामा जाने’ –वडा नं ३ वा वडा सचिव हस्तबहादुर शाहीले सदरमुकाममा बताए।

वडा कार्यालयमा स्थानीय स्रोतबाट बेहोर्ने गरी कार्यालय सहयोगी, प्राविधिक र सहलेखापाल भए पनि वडा सचिवले गर्ने कामको अख्तियारी कुनै पनि कर्मचारीलाई नहुँदा स्थानीयबासीमा वडाको नियमित काममा समस्या देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्