सकियो नाडा अटो शो करिब ३ अर्बको सवारी बुकिङ



 

नेपाल समाचारपत्र
काठमाडौ
राजधानीमा छ दिनसम्म चलेको सवारी साधनको कुम्भ मेला ‘नाडा अटो शो २०७४’ मा पौने ३ अर्ब रुपियाँबराबरको सवारी साधान बुकिङ भएको आयोजकको दाबी छ।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार मेला अवधिभर हजार वटा चार पांग्रे सवारी साधन बुकिङ भएका छन् भने एक हजार ६०० वटा दुई पांग्रे सवारी साधन बुकिङ भएका छन्। चार पांग्रे सवारी साधन साढे दुई अर्ब रुपियाँ बराबर एवम् ३२ करोड रुपियाँ बराबरका दुई पांग्रे सवारी साधन बुकिङ भएका छन्।

गत भदौ १३ गतेदेखि शुरू भएको उक्त मेला ६५ हजार सर्वसाधारणले अवलोकन गरेका छन्। करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरेकोमा लक्ष्यभन्दा बढी सफलता प्राप्त भएको नाडा अटो शो आयोजकको भनाइ छ। यस पटकको मेलामा सानाठूला गरी १३० वटा स्टल राखिएका थिए। विभिन्न १६ वटा ब्रान्डका चार पांग्रे, १९ वटा ब्रान्डका दुई पाग्रे एवम् ५ ब्रान्डका हेभि कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको थियो।

मेलामा बैंक, बीमालगायत सेवाप्रदायक कम्पनीले पनि शोरुम राखेका थिए। अटोमोबाइल सम्बद्ध सवारी सुरक्षा, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसोरिजहरूको पनि प्रदर्शनी रहेको थियो।

गत वर्षको मौद्रिक नीति अर्ध वार्षिक समीक्षामार्फत् कार फाइनान्समा राष्ट्र बैंकले ५० प्रतिशत सिलिङ तोकिदिएपछि गाडी बिक्री एकाएक घटेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त सीमा ६५ प्रतिशत पुर्याएपछि अटो व्यवसायमा केही उत्साह थपिएको व्यवसायीको भनाइ छ।

झन्डै छ महिना थला परेको व्यवसायलाई पुनर्जीवन दिने अवसरको रूपमा व्यवसायीले नाडा अटो शोलाई लिएका थिए।
राष्ट्र बैंकले लगानी कडाइ गरेका बेला धेरै कम्पनीले भारत एवम् अन्य मुलुकबाट ल्याइएका गाडी भन्सारमा जाँचपास नगरी राखेका थिए। असार अन्त्यमा नयाँ मौलिक नीति आएपछि अटो व्यवसायमा नयाँ चहलपहल देखिएको हो।

प्रतिक्रिया दिनुहोस्