निजी क्षेत्रमा हालसम्मकै ठूलो विदेशी लगानी भित्रियो



 

नेपाल समाचारपत्र
काठमाडौं
लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडबीच नेपालमा सिमेन्ट कारखाना स्थापनाको लागि आइतबार परियोजना लगानी सम्झौता (पीआईए) मा हस्ताक्षर भएको छ। निजी क्षेत्रबाट नेपालमा विदेशी लगानी भएको यो हालसम्मकै ठूलो परियोजना हो।

विभिन्न मुलुकले नेपालमा ठूला परिमाणमा लगानी गरेको भए पनि निजी क्षेत्रबाट यति ठूलो रकमका लागि सम्झौता भएको यो पहिलोपटक हो। सम्झौताअनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ। ७० प्रतिशत होङ्सी गु्रप र ३० प्रतिशत नेपालको लगानी रहने उक्त परियोजनामा चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट लिमिटेड र नेपालका विभिन्न व्यावसायिक समूह रहेको शिवम् होल्डिङको लगानी रहेको छ।

सिमेन्ट उद्योग सञ्चालनका लागि आवश्यक पर्ने क्लिंकर उत्पादनका लागि पाल्पाको ज्यामिरेमा रहेको चुनढुंगा खानी प्रयोग हुनेछ। उद्योग र खानीबिच आवश्यक सडक पूर्वाधार नेपाल सरकारले निर्माण गरिदिने भएको छ। उक्त कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्नेछ। कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरू गर्नेछ र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने लक्ष्य राखेको छ।

परियोजना लगानी सम्झौतालाई नेपाल सरकार र कम्पनीबीचको एक करारका रूपमा लिइएको छ। दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको उक्त करार अन्तर्गत नेपाल सरकारले लगानीको सुरक्षा प्रत्याभूति दिँंदै कम्पनीको स्थापनाका लागि सडक विद्युत् लगायतका पूर्वाधारको सुविधा उपलब्ध गराउनुपर्नेछ। कम्पनीले उद्योग स्थापना भएपछि राष्ट्रियकरण गर्न नपाउने र नेपालको स्वदेशी लगानी रहेका कम्पनीहरू सरह नै सेवा सुविधा पाउनुपर्ने शर्त राखेको छ। आगानी ३ वर्षभित्रमा कम्पनीले सबै लगानी जुटाई सक्नुपर्नेछ।

अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको उपस्थितिमा सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङसी सिमेन्टका तर्फबाट तर्फबाट कम्पनीका निर्देशक लाई वेईपेङले हस्ताक्षर गर्नुभयो। सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले यो लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताउनुभयो। मन्त्री कार्कीले परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। ‘नेपालमा विदेशी निजी क्षेत्रको लगानीका लागि सकारात्मक सन्देश गएको छ। यसले मुलुकको आर्थिक र लगानीका क्षेत्रमा ठूलो सहयोग पुर्याएको छ र सरकारी निकायबाट आवश्यक सहजीकरणको सुनिश्चितता पनि दिलाउन चाहन्छु–उहाँले भन्नुभयो। मन्त्री कार्कीले आवश्यक पूर्वाधार सुविधा सरकारले उपलव्ध गराउने पनि बताउनु भयो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गइरहेको प्रमाणित भएको बताउनुभयो। अधिकारीले भन्नुभयो–‘आजको सम्झौतासँगै हामीले नेपालमा विश्वस्त भएर लगानी गर्न र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीहरूको लागि यसपछिको अवसरका हेरेका छौं।

सोही अवसरमा होङसी शिवम् प्राईभेट लिमिटेडका निर्देशक लाई वेईपेङले नेपाल लगानीका लागि उपयुक्त स्थान रहेको र परियोजनालाई सफल बनाउन सरकारी पक्षबाट कानुनी र नीतिगत पक्षमा सहयोगको अपेक्षा राखेको बताउनुभयो। वेईपेङले भन्नुभयो–‘नेपालमा लगानीको वातावरण सम्बन्धी हाम्रै अनुभवले पनि नेपालमा विदेशी लगानी भित्र्याउन लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्