प्रशिक्षक मुख्तारको बिदाइ



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल बक्सिङ संघले काजकिस्तानका प्रशिक्षक मुख्तार बर्दिमवितोभलाई बिदाइ गरेको छ। एसियाली बक्सिङ महासंघको सहयोगमा गत जुन ९ तारिखमा नेपाल आएका मुख्तार तीन महिनाको नेपाल बसाइँपछि सोमबार स्वदेश फर्किंदै छन्। प्रशिक्षक मुख्तारलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, संघका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीलगायतका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरूले आइतबार बिदाइ गरे। काजकिस्तानका प्रशिक्षक मुख्तारले तीन महिनाको अवधिमा नेपाली खेलाडीको टेक्निकमा धेरै नै परिवर्तन आएको बताए। खेलाडीहरू निकै नै मेहनती रहेकाले नेपाली बक्सिङको भविष्य उज्वल रहेको बताए। उनले बक्सिङ संघले अनुरोध गरे आफू फेरि पनि नेपाल आउन तयार रहेको बताए।

बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले मुख्तारले प्रशिक्षण दिएपछि खेलाडीको टेक्निकमा धेरै सुधार आएको बताए। राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठले विदेशी प्रशिक्षकसँग तालिम लिएपछि टेक्निकमा सुधार आउनुका साथै आत्मविश्वास पनि बढेको बताए। मुख्तारले राष्ट्रिय टोलीका ३४ खेलाडीका साथै विभागीय टोली र क्लबका खेलाडीलाई तालिम दिएका थिए।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले मुख्तार आगामी अक्टोबरमा फेरि नेपाल आउनसक्ने बताए। उनले मुख्तारलाई ल्याउन राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग पहल गरिने बताए। मुख्तारको दुईतर्फी हवाई टिकट र तीन महिनाको पारिश्रमिक एसियाली बक्सिङ महासंघले बेहोरेको थियो भने बक्सिङ संघले नेपाल बसाइमा खान, बस्न र स्थानीय यातायातको व्यवस्था मिलाएको थियो।

प्रतिक्रिया दिनुहोस्