पल्सर स्पोर्ट्स अवार्डका मनोनयन सार्वजनिक



 

नेपाल समाचारपत्र
काठमाडौं
पल्सर स्पोर्टस अवार्ड २०७३ का लागि मनोनयन परेका खेलाडीहरूको नाम आइतबार सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको मनोयनमा ८ खेलका २० जना खेलाडीको नाम अटाएका छन्। जसमध्ये चारवटै विधामा गरी फुटबलतर्फका मात्रै सर्वाधिक पाँच जना खेलाडीको नाम परेको छ। चार विधाअन्तर्गत फुटबल खेलाडीमा गोलरक्षक किरण चेम्जोङ वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पर्दा ग्यातुको कोजी र मेघराज केसी प्रशिक्षकमा परेका छन्। यस्तै सावित्रा भण्डारी महिला र वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्न सफल भएका छन्।

यसै गरी एथ्लेटिक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराई उत्कृष्ट महिला खेलाडी तथा सोमबहादुर कुमार वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्न सफल भएका छन्। कान्छी पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पनि रहेकी छिन्। ब्याडमिन्टन, क्रिकेट र भलिबलका दुई–दुई खेलाडी, जुडो, भारोत्तोलन र आर्चरीबाट समान एक–एक खेलाडी मनोनयनमा पर्न सफल भए। जसअनुसार ब्याडमिन्टतर्फका दिदीभाइ नङ्सल र रत्नजित तामाङ उत्कृष्ट क्रमशः महिला र पुरुषको मनोनयमा छन्। सोही खेलका किरण थापा प्रशिक्षकको मनोनयनमा परेका छन्। यसै गरी जुडोकी मनीता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठ उत्कृष्ट युवा तथा आर्चरीकी ज्ञाने अवाले उत्कृष्ट महिलाको मनोनयनमा परेका छन्।

क्रिकेटका शरद् भेषवाकर उत्कृष्ट पुरुष, दीपेन्द्रसिंह ऐरी उत्कृष्ट युवा र जगत् टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्दा भलिबलकी प्रतिभा माली उत्कृष्ट युवा र मानबहादुर श्रेष्ठ उत्कृष्ट पुरुषको मनोयनमा अटाएका छन्। दीपेन्द्र पनि पिपुल्स च्वाइस अवार्डको मनोयननमा छन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयनमा पर्नेको नाम आइतबार सार्वजनिक गरेका हो। एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको मनोयन भने यसअघि नै सार्वजनिक भइसकेको छ। आठ विधामा दिइने अवार्डमध्ये अन्य तीन विधाका लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथ्लिट अवार्डको घोषणा भने भदौ २६ गते हुने अवार्ड कार्यक्रमकै दिन घोषणा गरिने मञ्चले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्