सडक सञ्जालले जोडिँदै पश्चिम जाजरकोट



 

प्रकाश पन्त, वीरेन्द्रनगर
पश्चिम जाजरकोटका गाउँ बस्तीहरू सडक सञ्जालसँग जोडिन थालेका छन। क्षेत्र नं २ बाट निर्वाचित सांसद राजीवविक्रम शाहको विशेष पहलमा पश्चिम जाजरकोटका विकट गाउँ बस्तीहरू सडक सञ्जालले जोडिन थालेका हुन्।

सांसद शाहको पहलमा छेडा–थल हुँदै चाँदे, छेडा–कचाली, लिर्ता–कार्कीगाउँ–मछाइना, ढुंगिला–वडाकाँडा सार्नीमेला सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। स्यापी–आले हँुदै सीमा, चिउदुवा–इन्द्रज्योति मावि जोड्ने सडक, मटेला–गर्खाकोट, चल्लो पोले–पजारु सडक, बाटुले–टापुचौर सडक, सुवानाउली–मजकोट सडक पनि सांसद शाहकै पहल र सक्रियतामा निर्माण थालिएको हो।

यस्तै पराले छाना–मजकोट सडक, अब्गाना–पुल्ली मिड्का सडक, दुईपीपल–पोखरा मावि सडक निर्माणको काम पनि दुई वर्षको अवधिमा शाहकै पहलमा भएको नेपाली कांग्रेस जाजरकोटका सचिव खड्क बिसीले बताउनुभयो। छेडा थल चाँदे हँुदै जुम्लासम्म जोड्ने सडकको छोडा मोर्क सडक खण्ड कालेपत्रे गरिएको छ भने मोर्क बालुवा खण्ड ग्राभेल भएको छ।

२३ वर्षसम्म एक किलोमिटर पनि निर्माण नभएको छेडा कचाली सडकको काम अहिले तीव्र गतिमा अघि बढिरहेको छ। अहिले यो सडकको १५ किलोमिटर निर्माण भएको छ। सांसद शाहको पहल र सक्रियतामा माथिका सबै सडकको काम जिरोबाट शुरू भएको हो। ‘राजीव शाह चुनाव लड्ने बेला पश्चिम जाजरकोटका कुनै पनि गाउँमा सडक थिएन तर अहिले अधिकांश गाउँका केन्द्रमा सडक पुगेको अवस्था छ’ –सचिव बिसीले भन्नुभयो।
सबै सडक क्रमगत योजनामा समेटिएका छन्। आफ्नै पहलमा निर्माण शुरू भएका सडकहरूको सांसद शाहले अनुगमन गर्ने र त्रुटि भेटिए ठेकेदारलाई सच्याउन लगाउने काम पनि गर्दै आउनुभएको छ। गाउँमा सडकको पहँुच बढेसँगै आवतजावतमा सुविधा भएपछि त्यहाँका जनता हर्षित भएका छन्।

पश्चिम जाजरकोटमा पर्ने साविकका अधिकांश गाविसका केन्द्रसम्म सडक पुगेको छ। दुई वर्षको अवधिमा अधिकांश गाउँमा ग्रामीण सडकको ट्रइक खोलिएको छ। दुई⁄तीन दिन पैदल हिँडेर सदरमुकाम खलंगा पुग्ने गरेका स्थानीय अहिले गाडी चडेर बिहान सदरमुकाम गएर साँझ घर फर्किने गरेको शिवालय गाउँपालिकाका वडाध्यक्ष दीपक खड्काले बताउनुभयो।

उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धनी पश्चिम जाजरकोटमा सडकको पहुँच विस्तारसँगै समृद्धिको ढोका पनि खुलेको उल्लेख गर्नुभयो। सडक सँगसँगै सांसद शाहको पहलमा लघु जलविद्युत् आयोजना, खानेपानी, सिँचाइलगायतका भौतिक पूर्वाधारको कामले पनि तीव्रता भएपछि जनताले पनि विकासले गति लिन थालेको अनुभूति गरेका छन्।

पत्रकार राजेन्द्रविक्रम शाहीले पश्चिम जाजरकोट सडक सञ्जालले जोडिन थालेपछि जनताले उत्पादन गरेका कृषिजन्य वस्तु सजिलै बजारसम्म पुग्ने भएकाले उनीहरूको आयस्तरमा पनि वृद्धि भएको बताउनुभयो। सडक निर्माणले तीव्रता लिन थालेपछि अब विकासले गति लिन्छ भन्नेमा जाजरकोटका जनता ढुक्क छन्।

तल्लो सुवानाउलीको पिको लघु जलविद्युत् आयोजना, गर्खाकोटको हिप्काखोला लघु जलविद्युत् आयोजना, दशेरा खानेपानी आयोजना, थालारैकरके माले पहरा खानेपानी आयोजनालगायतका दर्जनौं आयोजना पनि सांसद शाहकै पहल र सक्रियतामा निर्माण भएका छन्। सांसद शाहकै पहलमा पश्चिमका जनताका लागि शिवालय गाउँपालिकामा एम्बुलेन्स सेवा पनि सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्