संरचना मर्मतमा सेना



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनर्निर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ। बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालयलगायतका ७५ वटा संरचनामा क्षति पुर्याएपछि सरकारबाट पुनर्निर्माणको जिम्मा पाएको नेपाली सेनाले मर्मत र पुनर्निर्माण कार्यलाई तीव्र बनाएको हो। बाढीले जिल्लाको ६ विद्यालय, ५ वटा तटबन्ध, ४ वटा पुल तथा २ दर्जन कल्भर्ट र सडक खण्डलगायतका संरचनामा क्षति पुर्याएको थियो। जसकारण स्थानीयको दैनिकी कष्टकर हुनुका साथै नजिकिँदै गरेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनसमेत प्रभावित हुने अवस्था आएको थियो। तर सेनाले जिम्मा पाएलगत्तै मर्मत र पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

गत भाद्र १२ गतेदेखि भीमदल गण तथा ओखलढुंगा, खोटाङ, पाँचथर र उदयपुरबाट समेत झिकाइएको सेनाको इन्जिनियर तथा टास्क फोर्ससहितको करिब २ सय जनाको टोली अहिले बाढीले भत्काएको संरचनामा मर्मत र पुनर्निर्माण कार्यमा दिनरात खटिरहेको पुनर्निर्माण कार्यको संयोजनसमेत गरिरहेका सहायक रथी तथा बाहिनीपति भरत पाठकले बताए।

शनिबार पुनर्निर्माण कार्यको स्थलगत निरीक्षण र अनुगमनका क्रममा पुगेका सञ्चारकर्मीसित कुरा गर्दै उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने असोज २ गतेभन्दा पहिले नै बाढीले भत्काएका सबै संरचनाको मर्मत र पुनर्निर्माण गरिसक्ने बताए।

‘निर्वाचनअगावै सबै संरचनालाई दुरुस्त बनाइसक्ने गरी युद्धस्तरमा काम भइरहेको छ’, उनले भने– ‘गुणस्तरीय र समयमै सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक दक्ष जनशक्तिको प्रयोग गरी दिनरात काम भइरहेको छ।’

जिम्मा पाएको छोटो समयमै सेनाले शनिबारसम्ममा राजविराज डुमरीस्थित राष्ट्रिय प्राथमिक विद्यालय, डुमरी–बिरौल, डुमरी–राजदेवी रोड, डुमरी–देउरी भरुवा रोड, पोर्ताहा–मयनाकडेरीलगायतका सडक खण्ड दुरुस्त बनाइसकेको छ। हाल भारदह–पोर्ताहा सडक, हनुमाननगर मयनाकडेरीलगायतका सडक खण्ड र सो मार्गमा पर्ने कल्भर्ट पुल पलेसाको मर्मत र पुनर्निर्माण कार्य भने जारी रहेको छ।

ती संरचना पनि भाद्र २९–३० गतेसम्ममा पूरा गरिसक्ने लक्ष्यका साथ काम भइरहेको सहायक रथी पाठकले बताए। उनले पूर्वी पृतनापति गौरवशमशेर राणाको निर्देशनमा बाढीले भत्काएका संरचनाको मर्मत र पुनर्निर्माणका लागि सप्तरी र सिरहामा ३ सयभन्दा बढी सेनाको प्राविधिकसहितको टोलीले काम गरिरहेको जानकारीसमेत दिए।

 

प्रतिक्रिया दिनुहोस्