अस्तव्यस्त सेमेस्टर



 

प्रशान्त वली

सेमेस्टर प्रणाली अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै विद्यार्थीले गुनासो गर्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयले यस वर्षको शैक्षिक सत्रदेखि काठमाडौं उपत्यकामा सेमेस्टर प्रणाली लागू गरे पनि सोचेअनुरूप सफल हुन सकेको छैन।

विद्यार्थीको गुणात्मक क्षमता बढाउन र विद्यार्थीकेन्द्रित शिक्षण पद्दतिको धारणा विकास गरी अन्तर्राष्ट्रिय बजारमा बिकाउ शिक्षा प्रदान गर्न भनी सेमेस्टर प्रणाली लागू गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ।

जसले गर्दा विद्यार्थी पुरानै पाठ्यक्रम अध्ययन गर्न बाध्य भएका छन्। विद्यार्थीले सेमेस्टर प्रणालीमा अध्ययन गरे पनि यो प्रणाली वार्षिक परीक्षा प्रणालीभन्दा त्यति धेरै तात्त्विक अन्तर नभएको गुनासो गरेका छन्। विद्यार्थीले सेमेस्टर प्रणालीलाई व्यावहारिक बनाउन क्याम्पस प्रशासन नै जिम्मेवार हुनुपर्ने बताउँछन्।

सेमेस्टर प्रणालीभित्र देखिएका समस्याका बारेमा बृहत् अध्ययन भएको छ। यसको समाधानका लागि हामीले छलफल गरिराखेका छौं। मानविकी, शिक्षा, व्यवस्थापनलगायतका केही विषयहरूको शैक्षिक क्यालेन्डर ननिस्किएको यथार्थ हो। अन्य सबैको क्यालेन्डरअनुसार काम भइरहेको छ। यसैबीच प्रदेश र केन्द्रको चुनावले कार्यतालिका परिमार्जन नहुने र तोकिएको समयमा परीक्षा हुनेछ।

गत वैशाखमा प्रथम सेमेस्टरमा विद्यार्थीलाई भर्ना गरिए पनि उपर्युक्त भौतिक संरचना र कतिपय विषय प्राध्यापकको खेलाचीका कारण सेमेस्टर प्रणाली द्रुत गतिमा अघि बढ्न नसकेको हो। सेमेस्टरमा प्रत्येक शैक्षिक सत्रको ६⁄६ महिनामा परीक्षा लिइनुपर्ने, प्रत्येक पाठ सकिएपश्चात विद्यार्थीकेन्द्रित क्रियाकलाप हुनुपर्ने, विद्यार्थीकेन्द्रित विधि अनिवार्य अवलम्बन गरिनुपर्नेलगायतका प्रावधान राखिएको छ। कक्षाकोठामा हाजिरी लिने सिस्टम लागू भए पनि त्यो वैज्ञानिक र उपलब्धिमूलक बन्न सकेको छैन। सेमेस्टरमा पढाइ हुने कुल दिनको ८० प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था छ।

शैक्षिक क्यालेन्डर समयमा आउन नसक्दा परीक्षा कहिले हुन्ने भन्नेबारेमा अन्योल भएको महेन्द्ररत्न क्याम्पस काठमाडौं ताहचल स्नातकोत्तर प्रथम सेमेस्टर गणित संकायमा अध्ययनरत विद्यार्थी रामराज मैनालीले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वैशाखमा पहिलो सेमेस्टरमा भर्ना भएको हुँ। परीक्षाको टुंगो छैन। ६ महिनामा परीक्षा हुने त भनेको छ। नियमअनुसार असोजमा हुनुपर्ने हो। प्राध्यापकहरूलाई समेत सेमेस्टरको बारेमा केही थाहा नभएको पाएँ।’
केही प्राध्यापकले विद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तकको विषयमा समेत अंग्रेजी माध्यमबाटै परीक्षा गर्न दबाब दिएको समेत बुझिन आएको छ। विद्यार्थीले भने आफूहरूले नेपाली माध्यमबाट परीक्षा दिने आफ्नो मौलिक हक रहेको बताउँछन्। सेमेस्टर सिस्टमलाई सोचेअनुरूप बनाउन प्रत्येक क्याम्पसले छुट्टै योजना बनाउन आवश्यक रहेको विद्यार्थीको तर्क छ।

कातिकभित्र परीक्षा भइसक्नुपर्ने भए पनि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिकासमेत सार्वजनिक गर्न सकेको छैन। विद्यार्थी संगठनले सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण असफल भएको बताउँछन्। विप्लब निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल बढुवालले भन्नुभयो– ‘भौतिक संरचना, परिमार्जित पाठ्यक्रमलगायतका तयारीविना त्रिविले जसरी सेमेस्टर प्रणाली लागू गरेको छ, यसले समग्रतया विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ। तसर्थ समयानुकूल र व्यावहारिक शिक्षा दिनु भन्नेतर्फ त्रिभुवन विश्वविद्यालय पटक्कै लागेको छैन। अहिले टीयूमा राजनीतिशास्त्र, भूगोल, इतिहासलगायतका विषयमा विद्यार्थीको संख्या निकै कम छ। सेमेस्टर चलेपछि त विद्यार्थी आकर्षित हुनुपर्ने होइन र?’

सेमेस्टर प्रणाली लागू भए पनि कहिलेबाट परीक्षा गराउने भन्नेबारे त्रिभुवन विश्वविद्यालय नै जानकार छैन। विश्वविद्यालयका मानवशास्त्रका डीन शिवलाल भुसाल भन्नुहुन्छ– ‘पाठ्यक्रम हतारहतारमा बनाइयो। शैक्षिक क्यालेन्डर पुससम्म भए पनि बनाउँछौं। वार्षिक परीक्षा प्रणालीको अझै ह्याङ हट्न नसक्दा केही चुनौती देखिएका छन्। चुनौती छिचोल्दै जाने हो। विश्वविद्यालय नै यस्तै छ। विस्तारै सुधार होला।’ ढिलोसम्म भर्ना चलेकाले केही संकायको शैक्षिक क्यालेन्डर बन्न नसकेको र पुससम्म भए पनि शैक्षिक क्यालेन्डर ल्याउने डीन भुसाल बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले आगामी वर्षदेखि देशैभर सेमेस्टर प्रणाली लागू हुने र त्यसका लागि तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सेमेस्टर प्रणालीभित्र देखिएका समस्याका बारेमा बृहत अध्ययन भएको छ। यसको समाधानका लागि हामी छलफल गरिराखेका छौं। मानविकी, शिक्षा, व्यवस्थापनलगायतका केही विषयहरूको शैक्षिक क्यालन्डर ननिस्किएको यथार्थ हो। अन्य सबैको क्यालेन्डरअनुसार काम भइरहेको छ। यसैबीच प्रदेश र केन्द्रको चुनावले कार्यतालिका परिमार्जन नहुने र तोकिएको समयमा परीक्षा हुने समेत उपकुलपति खनियाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्