फेसनमा समुद्री जीवन



 

समुद्री जीवनलाई मुख्य थिम बनाउँदै शनिबार राजधानीमा आकर्षक फेसन शो गरिएको छ। नमुना कलेजले ग्राजुएसन फेसन शोको क्रममा समुद्री जीवनलाई फेसनमा पस्केको हो। शोमा अक्टोपस, कोरल रिफ, सि अरचिन, स्टार फिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सि ड्रागनलगायत समुद्री जीवनबाट अभिप्रेरित १५ अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैली प्रस्तुत गरिए। सिर्जनात्मक सोच र कल्पनाशीलताले सजिएका ती पहिरनले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकलाई समुद्री परिवेशमा विचरण गराएको अनुभूति दिलाउन सफल भयो। शनिबार राति दरबारमार्गस्थित होटल याक एन्ड यतिमा भएको नमुना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १२औं ब्याचका ५७ जना विद्यार्थीको अन्तिम परीक्षाको महत्त्वपूर्ण पाटोका रूपमा प्रस्तुत सो फेसन शोको मुख्य आकर्षण थिए ती पहिरन शैली।


रिकोरेन्जा डिला मोडा शीर्षकअन्तर्गत विद्यार्थी स्वयंले आयोजना तथा व्यवस्थापन गरेको ग्राजुएसन फेसन शोमा अन्य ५ सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए। फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले र्याम्पमा अवतरण गरेको थियो। त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरूपले प्रवेश पायो। जसमा सारीका साथमा फिटेड ज्याकेट, स्लिम फिट ज्याकेट, केपलगायतको सुन्दर कम्बिनेसन प्रस्तुत गरिएका थिए। त्यसपछि स्ट्रिट वेयरले आफ्नो प्रभाव देखायो। जसमा क्याजुयल र आरामदायी मुडलाई प्राथमिकता दिइएको थियो भने पहिरनहरू मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए।

नमुना कलेजकी संस्थापक प्रिन्सिपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रूपमा परिचित ज्ञानी शोभा तुलाधरप्रति समर्पित पहिरन शैलीले कार्यक्रमको मध्यसमयमा प्रवेश पायो। ज्ञानीशोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनको नमुनालाई सो चरणमा प्रस्तुत गरिएको थियो। ब्युटी क्विन शीर्षकअन्तर्गत प्रस्तुत ती पहिरन मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्कजस्ता फ्याब्रिकमा खेलिएका थिए। जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ सोल्डर डिजाइन आदि प्रमुख थिए। सञ्चारकर्मी तथा कोरियोग्रफार रोजिन शाक्यको कोरियोग्राफी सम्पन्न फेसन शोमा ५ युवा मोडलसहित ३ दर्जनभन्दा बढी मोडलले र्याम्प नापेका थिए।

शोको पाँचौं सिक्वेन्स कर्पोरेट जगत्प्रति समर्पित थियो। जसअन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, सर्ट, टप्सलगायत प्रस्तुत गरिएको थियो, जुन कर्पोरेट जगत्का महिला प्रोफेसनलहरूप्रति केन्द्रित थिए।

प्रतिक्रिया दिनुहोस्