लोकतन्त्र भनेको सीमित दलहरूको होडबाजी होइन। यथार्थमा लोकतन्त्रको लक्ष्य मात्र देश विकास गर्नु हो, तर हाम्रो मुलुकमा अलि अलग धारणा छ। यहाँ लोकतन्त्र भनेको कांगे्रस, माओवादी, एमाले, तराई मात्रको हो। यो कुरा किन भन्नुपरेको भने, जब सर्वसाधारणको आयस्रोत औसतमा बढ्दैन, समस्याका समाधान हुँदैनन्। तब यी कुरा पोख्न बाध्य हुनुपर्दछ। यी कारणले गर्दा पनि यहाँ दलहरूका राजलाई मिलिजुली प्रजातन्त्र भन्न सकिन्छ। राजनीतिमा आउने अनि आफ्नै पकड बलियो गर्ने। यस्तो सोचले मुलुकको विकास सधैँ सुस्त भइराखेको हुन्छ। जसले गर्दा राजधानी तथा प्रदेशहरूको अवस्था उस्तै भइराखेको हुन्छ। एक त भूकम्प, पहिरो, बाढीजस्ता दैवी प्रकोपले सधैँ ठगिराखेको हाम्रो मुलुक, त्यसमाथि नेताहरू अल्झिएर राजनीतिलाई रबरजस्तै तन्काउने रोगले झनै दिक्क बनाएको छ। त्यसकारण यस अवस्थामा केही पुराना दलहरूले नयाँ दलहरूलाई पनि राजनीतिक क्षेत्रमा आउने तथा देश चलाउने परम्परा र संस्कार बनाइदिनुपर्छ। भनाइको मतलव देश हाँक्नेहरूका लागि यिनीहरूलाई पनि अहिलेको परिप्रेक्ष्यमा द्वार खोलिदिनु आवश्यक छ। कारण यो मुलुकमा बुद्धिजीवीहरू धेरै छन्। लोकतन्त्रान्त्रिक मुलुकमा यिनीहरूलाई पनि संकुचित भावना त्यागेर मौका दिनुपर्छ। अनि मात्र मुलुकको विकास द्रुतगतिमा जानेछ। यसका लागि नयाँ दल भनौं, नयाँ पुस्ता भनौं, यिनीहरू पनि मुलुकको विकासप्रति बिकाउ नभई अग्रसर हुनु जरुरी छ। अन्यथा जुन प्रणाली आए पनि उस्तै त हो नि, राष्ट्रको ढुकुटी रित्तिँदै जाने, विकासको गति भने उस्तै हुने।

वास्तवमा हामी नेपाली अन्धविश्वासी र अल्लारे त छँदै छौं। यसबाहेक हामी जति सोझा देखिन्छौं यथार्थमा हामी उत्ति नै बाङ्गो र अप्ठ्यारो भएका छौं। उदाहरणका लागि सरकारहरू र कुर्सीमा बस्नेहरूलाई हेरौं। यिनीहरूको विषयमा केही भनिराख्नुपर्ला जस्तो लाग्दैन। अविकसित मुलुकको सरकारको काम सर्वसाधारणलाई सुविधा दिएर निरन्तर विकास गर्दै जानु हो। यस्तो अवस्थामा सरकारले विकासको लागि दाताबाट आउने रकम, सर्वसाधारणबाट आउने कर र रेमिट्यान्स रकम आदिलाई माध्यम बनाइराखेको हुन्छ। तर विडम्बना यो छ कि जतिसुकै रकम हाम्रो देशमा आइराखे पनि विकासले तीव्रता लिन सकेन। यहाँ सरकारप्रति प्रतिकार गर्नेहरू ज्यादै कम छन् अर्थात् कोही बोल्दैनन् कि आखिर यत्रो रकम किन फ्रिज भएर बसिराखेको हुन्छ ? ठूला योजनाहरू कछुवा चालमा गइराखेको हुन्छ भने कैयौं ठाउँका बजेट यत्तिकै फ्रिज भएको हामी पाउँछौं। यी कुराको राम्रो लेखाजोखा हुँदैन, जसको फाइदा सरकारी हाकिमहरूले
उठाइराखेका हुन्छन्।

वास्तवमा भन्ने हो भने, हाम्रो मुलुकमा विकासमा ढिलासुस्ती हुनुको कारण कमिसन तथा भागवण्डा सरकारी भत्ता, विदेश भ्रमण, औषधि उपचार, कार्यकर्ता पालन, अनावश्यक बढी कर्मचारी भर्ती आदिजस्ता चुहावटका कारण विकासले मोड लिन नसकिराखेको मान्न सकिन्छ। त्यसकारण यस्तो अवस्थामा सरकारले सर्वसाधारणलाई करबाट मात्र सताउन हुँदैन। एउटा अचम्मको कुरा के छ भने, प्रायः हिजो दरिद्र मानिएका मुलुकहरू पनि आज आएर धेरै विकास भइसकेका छन् तर हाम्रो मुलुकले भने विकासको कोल्टे फेर्न पाएको छैन, जहाँसम्म लाग्छ– यस्को खास कारण सधैँ राजनीतिक कलह, भिजनको कमीलाई मान्न सकिन्छ। यसबाहेक लालच र अटेरी संस्कार विकासका शत्रु हुन् कि जस्तो पनि लाग्छ। यदि यी कुरा झुट हुन् भने यहाँ विकासका लागि भगवान्कै आशिर्वाद नभएको हामीले ठान्नुपर्दछ।

यो मुलुकमा देश हाँक्नेहरूको कुरा एउटा हुन्छ, काम अर्को हुन्छ। मेडियामा कुरा हरसमय अर्ब–खर्बको हुन्छ तर रोजगारका लागि भिखारीजस्तो यहाँका जनता विदेशीका शरणमा परिराखेका हुन्छन्। बदलामा यहाँ कि नेता मोटाइराखेका हुन्छन् कि यिनका सरकारी हाकिम र कार्यकर्ता मात्र मोटाइराखेका हुन्छन्। तैपनि सर्वसाधारण दालभातमा सीमित, कोही भने वाइन, रक्सी, बियरमा रमाइराखेका हुन्छन्। अर्को पक्ष भने खाली नकारात्मक सोच र दोषारोपण गरिराखेका हुन्छन्। यसबाहेक चम्बुहरू दुई नम्बरको रकममा रमाइराखेका हुन्छन्। तर थाहा छैन, यहाँ भएका बुद्धिजीवीहरू कुन दुनियाँमा हराइराखेका हुन्छन्। यहाँ बुद्धिजीवी भन्ने प्राणी नै नभएको हो कि ? तर हरेक पक्ष एकजुट हुने हो भने द्रुत विकास भनेको कुनै ठूलो कुरा होइन।

सरकार अन्धाधुन्ध यहाँ कर लिन्छ तर यहाँ सुख–सुविधा, सहुलियत पनि त उही हिसाबले दिनुपर्ने होइन र ? खोई त ? जुन जोगी आए पनि कान चिरेको जोगी आउने त हो नि, कि कसो ? उदाहरणका लागि मानिसहरू गुणस्तरीय खाद्यान्न वा अन्य सामान उपभोग गर्न सक्दैनन्, सडकमा राम्ररी हिँड्न सक्दैनन्, सवारी समस्या, यहाँसम्मकि मनोरञ्जनका नाममा पर्याप्त पार्कहरू छैनन्। यस मुलुकमा लोकतन्त्र आएको पनि झन्डै ३ दशक हुन लागिसक्यो, विकास भइराखेको जस्तो देखिए पनि यहाँ मानिसहरू उकुसमुकुस हुन बाध्य छन्। यसको खास कारण अनावश्यक धेरै नेता, झुट्टा आश्वासन, असुविधा तथा धेरै करहरूले आमजनतालाई सताइराखेको हुन्छ। तैपनि नेताहरू कानमा तेल हालेर बसेका हुन्छन्। जसरी डिस्कोमा नटुवाहरू एकोहोरो नाचेर बसेका हुन्छन्, यहाँका मुलुक हाँक्नेहरू पनि एकोहोरो र अटेरी भएकाले विकास खासै नभएको मान्न सकिन्छ। यसले गर्दा पनि सर्वसाधारण कर तिर्नबाट टाढा रहन चाहन्छन्। एक हिसाबले जनताबाट कर उसल्न नसक्नु भनेको मुलुकका लागि नै हानि हो। करबाट उठेको रकम चुहावट मात्र हुन्छ भने यहाँका सर्वसाधारणले पनि के गरुन् ? उनीहरू कर तिर्न आनाकानी गर्छन्।

समग्रमा भन्नुपर्दा, यो मुलुकमा अब युवा बुद्धिजीवीहरूको खाँचो छ। देश हाँक्न युवा बुद्धिजीवी ल्याएमा मुलुकको द्रुत विकास हुन सक्छ। युवापुस्ताले पनि लालच, स्वार्थ र गुटबन्दी त्यागेर कडारूपमा अघि बढ्नुपर्छ। अनि मात्र देशले छिटो भन्दा छिटो विकासमा फट्को मार्न सक्छ।

– रमेशकेशरी वैद्य, काठमाडौं

 

राजधानीमा अझै ट्राफिक समस्या

राजधानीका अस्तव्यस्त सडक र गाडीको जामले सधैँ तनाव हुन्छ जोसुकैलाई। तीन वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थालेका थिए। सार्वजनिक सवारी गुड्ने बाटो अलि फराकिलो भएको थियो। निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्रि बस असफल
भएपछि साझाको सडक आगमन भयो।

साना गाडीबाट व्यापकरूपमा हुने जामले समस्या सिर्जना गरेको बेला ठूला गाडी आवश्यक थियो। अहिले धेरैले ठूला गाडी हालेको अवस्था छ। तर सडक सुध्रिएको छैन। सर्वेन्द्र खनाल आएपछि सुध्रने सोचेका हामीहरू अहिले पनि निराश छौं। सरकारी क्षेत्रबाट विशेष काम नगर्दासम्म सधैँ यो समस्या भोग्नुपर्छ। सरकारले यस विषयमा केही सोचोस्।

– निरज श्रेष्ठ, भक्तपुर

LEAVE A REPLY