काठेपुलले जोड्यो सदरमुकाम



 

धनवीर दाहाल, रुकुम
मुसिकोट नगरपालिकाका मनबहादुर खड्का वर्षात्को समयमा आफ्नो घरबाट सदरमुकाम जानुपर्दा कहिलै पनि एक्लै निस्किएनन्। उनलाई सदरमुकाम जानका लागि कुनै न कुनै साथी अनिवार्य चाहिन्थ्यो। साथी चाहिनु उनका लागि कुनै बाघभालुको डर या कुनै चोरी डकैतीको डर नभएर खोला तर्नका लागि साथी अनिवार्य चाहिन्थ्यो। उनी मात्र होइन वर्षात्को समयमा लहुँ खोला बढेर वारपार गर्न कठिन हुने भएकाले जोखिम मोलेर स्थानीयहरू खोलामा दुई तीनजना सँगै भएर पस्ने गर्दथे। लहुँका स्थानीयलाई यो बाध्यता नै थियो। उनी मात्र होइन स्थानीय वीरबहादुर केसी पनि निकै जोखिम मोलेर वारपार गर्दथे।

स्थानीयले झोलुंगे पुलको माग गरे पनि तत्काललाई काठेपुलको निर्माण भएको छ। सो क्षेत्रमा तीनवटा काठेपुल निर्माण भएका हुन्। काइयो खोला, बैरागी ठाँटी र लहुँ खोलामा पुल निर्माण गरिएको हो। पुल निर्माण भएपछि बर्खामा यात्रुको आवतजावतमा सहज भएको स्थानीयको भनाइ छ।

‘जंघार तर्न अरू मान्छे कुर्नुपथ्र्याे’, स्थानीय मनबहादुर खड्काले भने– ‘अहिले त्यस्तो पर्दैन। पुल तरेर समयमै गन्तव्यमा पुगिन्छ।’ काइयो खोला ५० हजार, लहुँ खोला ३० हजार र वैरागी ठाँटी खोलामा ३० हजारको लागतमा पुल निर्माण गरिएको वडा सचिव कृष्णबहादुर खत्रीले जानकारी दिए।

यहाँका बासिन्दाको आवतजावतमा सहजता ल्याउन काठेपुल निर्माण गरिएको उनको भनाइ छ। तत्कालका लागि काठेपुल निर्माण गरिए पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको सुझाव छ। ‘अन्य समयमा सहज भए पनि बर्खामा पुल नहुँदा निकै समस्या हुने गरेको थियो’, स्थानीय वीरबहादुर केसीले भने– ‘पुल निर्माण भएपछि सहज भएको छ।’

‘बर्खामा ठूलो खोला आउँदा स्थानीयलाई खोला तर्न निकै कठिन थियो’, वडा अध्यक्ष प्रेमबहादुर ओलीले भने– ‘अहिले सहज भएको छ।’ विद्यार्थी, बालबालिका र वृद्धवृद्धा बढी लाभान्वित भएका छन्।

प्रतिक्रिया दिनुहोस्