नेपालमा १ लाख २५ हजार आँखाका बिरामी



 

प्रशान्त वली, काठमाडौं
पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको ० दशमलव ४ प्रतिशतमा आँखासम्बन्धी समस्या देखिएको छ। जुन संख्यात्मक आधारमा १ लाख २५ हजारभन्दा बढी हो।

विशेषतः बूढेसकाल, चिनी रोग, भिटामिन ‘ए’ को कमी, जन्मजातलगायतका कारण आँखामा समस्या देखिने गरेको छ। अहिले देशभर रहेका २६ वटा आँखा अस्पतालमार्फत् सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ।

आँखासम्बन्धी जुनसुकै रोगको निदान नेपालबाट सम्भव भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले बताउनुभयो। यस्तै तिलगंगामा आँखामा प्रयोग हुने लेन्स उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित ‘इन्ट्राअकुलर लेन्स’ न्युजिल्यान्ड, बेलायत, टर्की, अस्ट्रेलिया, अफ्रिका, म्यान्मार, अफगानिस्तान, पाकिस्तान, कम्बोडिया, भियतनामलगायतका देशमा समेत निर्यात हुने गरेको द फ्रेड होल्लोज फाउन्डेसनका पार्टनरसिप म्यानेजर अनिल न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

प्रति लेन्स निर्माण गर्न ४ सय २५ रुपियाँ लागत खर्च लाग्ने बताइएको छ। तर, नेपालीलाई तिलगंगाले २ सय २५ रुपियाँमा नै बिक्री गर्ने गरेको छ। नेपालीलाई बिक्री गर्दा भएको घाटा तिलगंगाले विदेशमा निर्यात गर्ने लेन्सबाट पूर्ति गर्ने गरेको बताइएको छ।

२० वर्षअघि लेन्स किन्न निकै खर्च लाग्ने गर्दथ्यो। विश्वबजारमा यस्तो लेन्सको मूल्य १ सय ५० देखि २ सय डलरसम्म पथ्र्यो। आर्थिक अवस्था कमजोर भएका नेपालीले ती लेन्स किन्न सक्दैनथे। फलस्वरूप मोतीबिन्दुका कारण धेरै नेपाली अन्धोपनको सिकार हुने गरेका थिए। विसं २०४७ तिर अस्ट्रेलियन डा. फ्रेड हलोज नेपालमा हुनुहुन्थ्यो। उहाँले पैसा नभएकै कारण कसैले दृष्टि गुमाउनु नपरोस् भनेर सस्तोमा लेन्स उत्पादन गर्ने योजना बनाउनुभयो। यसका लागि उहाँले नेपालमा लेन्स उत्पादन गर्न तिलगंगामा मेसिन जडान गर्नुभएको थियो।
विसं २०४९ मा लेन्स उत्पादन गर्ने ल्याब सञ्चालनमा आएको थियो। आँखामा राखिने लेन्स संवेदनशील कुरा भएकाले त्यसको सबै प्रक्रिया पूरा गर्दै ‘क्लिनिकल ट्रायल’ पास गर्नुपर्ने हुन्थ्यो।

सबै प्रक्रियामा पास भएपछि २०५३ सालदेखि लेन्सको बिक्री–वितरण शुरू भएको प्रतिष्ठानले जनाएको छ। त्यसबेला एउटा लेन्स तयार हुन ३ डलर खर्च लाग्थ्यो। तिलगंगाले उत्पादित लेन्स विश्व बजारमा ६ देखि १० डलरमा पठायो। सय डलर पर्ने लेन्स सस्तोमा पाउने भएपछि चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंकालगायतका देशमा नेपाली लेन्सको माग ह्वात्तै बढ्यो। नेपाली लेन्स पुग्नुअगाडिसम्म थाइल्यान्डमा लेन्सको सरकारी मूल्य नै ८० डलर थियो। तर, नेपालको लेन्स गएपछि मूल्य घटेर २० डलरमा आयो। शुरूमा तिलगंगाबाट रिजिड पीएमएम लेन्स उत्पादन हुन्थ्यो। २०६२ सालदेखि फोल्डेबल लेन्स उत्पादन शुरू भएको हो।

तिलगंगामा उत्पादित लेन्सको माग विश्व बजारमा बढ्दै गएपछि नेपाल सरकारले यसको क्षमता विस्तारका लागि १० करोड रुपियाँ सहयोग गर्ने आश्वासन दिएको थियो। जसअनुसार लेन्स उद्योग स्थापना गर्न उद्योग मन्त्रालयले गत वैशाख २८ गते १० करोड रुपियाँ सहयोग गर्ने सम्झौता पनि गरिसकेको छ।

सम्झौतामा कृत्रिम लेन्स उत्पादन तथा आवश्यक सहायक सामग्री र कच्चा पदार्थसमेत उत्पादन गर्ने उद्योग स्थापनाका लागि सरकारले सहजीकरण गर्ने, उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा स्थापित गर्न मन्त्रालयकोतर्फबाट आवश्यक समन्वय गर्ने उल्लेख छ। हाल तिलगंगाले लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्