ईपीजीको पाँचौं बैठक अन्योल



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा प्रस्ताव गरिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठकको मिति अझै तय हुन सकेको छैन। भारतीय पक्षले स्पष्ट जवाफ नपठाएकाले बैठकको मिति टुंगो लाग्न नसकेको हो।

२ वर्षे कार्य अवधि तोकिएको समूहको बैठक हरेक ३⁄३ महिनामा एक अर्को मुलुकमा आयोजना गर्ने प्रावधान छ। गत जेठ तेस्रो साता भारतको देहरादुनमा सम्पन्न चौथो बैठकले तय गरेअनुसार समूहको पाँचौं बैठक यही महिनाभित्र नेपालमा हुनुपर्ने थियो। नेपालले सो बैठक चितवन र पोखरामध्ये कुनै एक स्थानमा आयोजना गर्ने तयारी अघि बढाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षको आनाकानीले गर्दा पाँचौं बैठक दशैं अघि हुने सम्भावना भने न्यून छ।

ईपीजीका भारतीय समूहका सदस्य जयन्त प्रसाद अस्वस्थ रहेको खबर आएपछि बैठकको मिति यसअघि तय हुन नसकेको काठमाडौंस्थित ईपीजी सचिवालय सचिव यादव खनालले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केही समयअघि जयन्तप्रसाद अस्वस्थ रहेको खबर आएको थियो, सम्भवतः अब चाहिँ यही हप्ताभित्र बैठकको मिति तय हुनेछ।’

नेपालीहरूको महान् चाड दशैं नजिकिएकाले नेपालले भारतलाई सोहीअनुसारको बैठकको मिति प्रस्ताव गर्ने उहाँले बताउनुभयो।

गत वर्षको असारमा काठमाडौंमा आयोजना भएको पहिलो बैठकपछि समूहले औपचारिकरूपमा कार्य आरम्भ गरेको थियो। तर, १ वर्षभन्दा बढीको कार्य अवधिमा समूहले सन् १९५०को सन्धि पुनरावलोकन गर्ने र सो सन्धि खारेज गर्ने भन्ने विषय टुङ्गो लगाउन सकेको छैन।

गत महिना ईपीजीको नेपालतर्फको टोलीले नेपाल–भारत सम्बन्धका जानकार र अन्य सरोकारवालाहरूसँग यही विषय केन्द्रित रहेर राय⁄सुझाव लिएको थियो।
नेपाल–भारतबीच विगतमा भएका सन्धि, सम्झौताको अध्ययन गरी दुवै मुलुककका सरकारलाई राय सुझाव दिन गत वर्ष दुवैतर्फबाट ४–४ जना विज्ञ संलग्न समूह गठन भएको थियो। चौथो बैठकसम्ममा दुवैतर्फबाट १९५० को सन्धि, जलस्रोत, व्यापार, वाणिज्य, सीमा अतिक्रमण जस्ता विषयमा छलफल भए पनि कुनै विषयको टुङ्गो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्