चार करोडको लागतमा दुई गाउँपालीका जोड्ने पुल बन्यो



रविन भट्टराई,ताप्लेजुङ ।

ताप्लेजुङको पश्चिमी मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सिमानामा रहेको मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । कुल ४ करोड रुपैंयाँ बराबरको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको हो ।

सेवालुङ निर्माण सेवा प्रालि ताप्लेजुङले निर्माण गरेको उक्त पुलको लम्बाई ३६ दशमलव ४० मिटरको रहेको छ । मेरिङ्देनको खाम्लुङ र आठराई त्रिवेणीको चाँगे जोड्ने सो पुल निर्माण सम्पन्न भएसँगै अब हिउँद÷वर्षा दुवै मौसम अर्थात बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने भएको सेवालुङ निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूले बताए ।

मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएपछि स्थानीयबासी पनि हर्षित भएका छन् । गाउँगाउँमा पहिलेदेखि नै सडकहरु निर्माण भए पनि पुल नहुँदा यातायातका साधनहरु सञ्चालन हुन नसकेको अवस्थामा पुल निर्माण भएपछि स्थानीयबासी हर्षित भएका हुन् ।

उक्त पुल निर्माणले अब आठराई त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकाअन्तर्गतका साविक दर्जन बढी गाविसमा सवारी साधन सहज रुपमा सञ्चालन गर्न सकिने भएको स्थानीयले बताएका छन् ।

यस्तै हाल निर्माण भइरहेको तमोर करिडोर साथै कोशी राजमार्ग धरान–धनकुटा मुलघाट–बसन्तपुर हुँदै संखुवासभाको गुफापोखरी–ताप्लेजुङ सडक पनि यहि पुलमा जोडिने भएकाले यसलाई निक्कै महत्वपूर्ण पुलको रुपमा हेरिएको छ ।

मैवाखोलामा निर्माण भएको यो पुल र नजिकै निर्माणाधीन अवस्थामा रहेको दोभानस्थित तमोर नदीको पुल सम्पन्न भएमा जिल्लाकै समृद्धिको ढोका खुल्ने पनि बताइएको छ । सदरमुकाम फुङ्लिङ र साविक जिल्लाको क्षेत्र नं. २ जोड्नेगरी तमोर नदीमा मोटररेवल पुल निर्माणाधीन अवस्थामा रहेको छ ।

मैवाखोलाको पुल बनेपछि र तमोरको पनि पुल निर्माण सम्पन्न भएमा ताप्लेजुङ सदरमुकामदेखि गुफापोखरी–बसन्तपुर–धनकुटाअन्तर्गत कोशी राजमार्ग हुँदै तराईसँग सीधा सडक सञ्जाल जोडिने छ ।

तमोर नदीको पुल पनि आउँदो हिउँदभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्