किटोभा र सारापोभा अन्तिम १६ मा



 

न्युयोर्क, (एजेन्सी)
चेक रिपब्लिककी पेट्रा किटोभा र रसियाकी मारिया सारापोभा यूएस ओपनको अन्तिम १६ मा पुगेका छन्।

किटोभाले न्युयोर्कमा जारी यूएस ओपनको चौथो चरणमा पुगेर गार्बिन मुगुरुजाविरुद्ध खेल्ने तय पनि गरिन्। १३औं वरियता प्राप्त किटोभाले फ्रान्सकी कारोलीन गार्सियालाई ६–०, ६–४ ले हराएकी थिइन्। गत डिसेम्बरमा अपरिचित व्यक्तिले चक्कुले हानेर बायाँ हातमा चोट पुर्याएपछि उनको करिअर नै समाप्त हुने सम्भावना रहेको थियो। स्पेनकी तेस्रो वरियता प्राप्त मुगुरुजाले स्लोभाकिएन खेलाडी मेग्डालेना रिबारिकोभालाई सहजै ६–१, ६–१ ले पन्छाएकी थिइन्।

सारापोभाले अमेरिकी युवा खेलाडी सोफिया केनिनलाई ७–५, ६–२ ले हराएर अन्तिम १६ मा पुगिन्। सारापोभाले गत जनवरीमा अस्ट्रेलियन ओपन क्वार्टरफाइनल खेलेपछि यसै प्रतियोगितामार्फत् ग्रान्डस्लाममा पुनरागमन गरेकी हुन्। उनी १५ महिने डोपिङ प्रतिबन्धको सजाय भोगेर गत अप्रिलमा कोर्टमा फर्केकी थिइन्। तर, उनको पुनरागमनपछि कुनै पनि उपाधि जितेकी छैन्।

यस्तै अमेरिकाकी नवौं वरियता प्राप्त भेनस विलियम्स पनि अन्तिम १६ मा पुग्न सफल भइन्। उनले ग्रिसकी मारिया साक्कारीलाई ६–३, ६–४ ले पाखा लगाइन्। ३७ वर्षीया खेलाडी यस वर्ष विम्बल्डन फाइनलमा मुगुरुजासँग हारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्