अनिलले ताजिकिस्तानविरुद्ध नखेल्ने



 

काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय फुटबलका चर्चित स्ट्राइकर अनिल गुरुङको धोको यसपटक पूरा हुने भएन। अनिलले राष्ट्रका लागि ५०औं क्यापमा अन्तर्राष्ट्रिय करिअर समाप्त गर्ने लक्ष्य राखेका छन्। शनिबार एएफसी एसियन कप २०१९ छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध भाद्र २० गते खेल्ने खेलाडीको सूची सार्वजनिक हुँदा अनिलको नाम समावेश गरिएन।

२३ सदस्यीय टोलीमा सबै जसो नियमित खेलाडीको नाम छुटेका छैनन्। केवल छुटियो अनिलकै नाम। अनिलले पछिल्लोपटक यसै प्रतियोगिताअन्तर्गत यमनविरुद्धको खेलमा अन्तिम दुई मिनेट खेलेका थिए। गोलरहित बराबरीमा सकिएको सो खेल उनको ४९औं अन्तर्राष्ट्रिय सहभागिता थियो।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योटोकु कोजीद्वारा छानिएका खेलाडीमा एक नयाँ खेलाडीले मौका पाएका छन्। नेपाल आर्मीका खेलाडी जर्ज प्रिन्स कार्कीलाई ताजिकिस्तानसँग अनिलको स्थानमा खेल्न अवसर मिलेको हो। यस्तै आदित्य चौधरी राष्ट्रिय टोलीमा फेरि फर्केका छन्। उनी चोटका कारण विश्राममा थिए।

चोटले बाहिरिए–अनिल

यस विषयमा अनिलसँग कुरा गर्दा चोटका कारण खेल्न नसकेको उनले बताए। उनले भने– ‘यसपटक केही कारण नभएर मेरै कारण टोलीमा रहन सकेनौं। मेरो दुवै कुर्कच्चामा चोट लागेकाले म विश्राम लिइरहेको अवस्थामा छु। योपटक चोटले ब्याड लक भयो।’

अनिलले अक्टोबरमा यसै प्रतियोगिताअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा आफ्नो धोको पूरा गर्ने पनि नेपाल समाचारपत्रलाई बताए। उनले भने– ‘दुई हप्तामा म रिकभरी हुनेछु। यसपछि मैले अक्टोबरमा फिलिपिन्सविरुद्धको खेलमा राष्ट्रको लागि ५०औं क्याप गर्नेछु। त्यतिबेलै मेरो लक्ष्य पूरा पनि हुनेछ।’

प्रतिक्रिया दिनुहोस्