‘पीडितमाथि भयानक ठट्टा, कहिलेसम्म दिने मान्छे मार्ने लाइसेन्स ?’ शीर्षकको यसै नेपाल समाचारपत्रमा छापिएको समाचारले मलाई निकै सोचमग्न बनायो। दुर्घटनामा परेर घाइते तथा अंगभंग भएका पीडित परिवारलाई राज्यले के दिने वा सम्बन्धित यातायात व्यवसायी समितिले केही गर्नुपर्ने कि नपर्ने ? यस्ता प्रश्न अहिले टड्कारो छन्।

ब्यवसायीले मतलब नगर्ने, राज्यले केही नदिने गर्दा समस्या भएको छ। राज्यपक्षबाट व्यवसायीलाई भन्ने र व्यवसायीले ड्राइभरको गल्ती देखाएर पन्छँदा पीडित झन् पीडामा पर्ने अवस्था छ। यो विषयमा राज्यले केही पहलकदमी चाल्न जरुरी छ। जसरी हुन्छ दुर्घटनापछिको उद्धार र राहतमा ध्यान देऊ।

– सनम अधिकारी, चापागाउँ, काठमाडौं

भीमसेन थापाको जन्मथलोमा पर्यटनको सम्भावना

नेपालका चर्चित प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो रहेको गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न जरुरी देखिन्छ। इतिहास बोकेको यो गाउँमा पर्यटक भित्त्याउने किसिमका काम गर्नु अहिलेको आवश्यकता पनि हो। नेपालमा विदेशी डलर भित्त्याउने एउटा गतिलो माध्यम बनाउन सकेमा पर्यटकीय हिसाबले यो ठाउँले विदेशमा नेपाललाई चिनाउन सघाउनेछ।

वि.सं १८३२ मा भीमसेन थापाको जन्म पीपलथोकमा भएको थियो। पीपलथोकमा थापाको पूर्णकदको शालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी अहिले गरिएको छ। यो सकारात्मक कामको थालनी हो। गोरखा नगरपालिकाले यसमा काम शुरू गर्ने कुरा आम सञ्चारमाध्यममा आएका छन। यद्यपि यो काममा पर्यटन मन्त्रालयले नै नयाँ गुरुयोजनामार्फत पर्यटकीयस्थल बनाएमा नेपालमा यसले पर्यटनको क्षेत्रमा ठूलै भूमिका निभाउने देखिन्छ। भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको यस ठाउँको इतिहासलाई मात्रै पनि कृतिम रूपमा कोर्न सके पर्यटक बोलाउने बाटो बन्नेछ। ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लुलगायत हिमशृंखलाको अवलोकनका साथै पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ।

भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले २ रोपनी क्षेत्रफलको जग्गा दान गरिसकेको अवस्था छ। यसबाट प्रष्ट हुन्छ कि स्थानीयले एकदमै चासो दिएको अवस्था छ। यसमा सरकारी क्षेत्रबाट केही सहयोग भएमा यस ठाउँको विकास गर्न र पर्यटकीय रूपमा विकास गर्न कुनै ठूलो कुरा हैन। आव २०७२⁄७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न ५ लाख, आव २०७३⁄७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत ८ लाख र गोरखा नगरपालिकाले ३ लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका छन्। सबै जुर्मुराएर काम गर्न थालेको अवस्थामा केन्द्रबाट केही सहयोग आएमा यहाँ केही गर्न सकिन्छ जस्तो लागेको छ।

अहिले उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ। फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरू बनाइएको छ। सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठीन छ। सडक चल्ने बनाउन जरुरी छ। यहाँ अहिले आन्तरिक पर्यटक उद्यानमा आए पनि विदेशी पर्यटक ल्याउन नसकिएको अवस्था छ। विदेशी पर्यटकलाई आकर्षित गर्ने धेरै कुरा छन् यहाँ। प्रचारप्रसारका लागि पनि काम हुन जरुरी छ। उद्यान आसपासका क्षेत्रमा होमस्टे निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र भीमसेन उद्यानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकीय केन्द्रका रूपमा पीपलथोक विश्वसामू चिनिने सक्छ। छेवेटारस्थित दरौँदी नदीमा र्याफ्टिङ गर्न आउने पर्यटकलाई पश्चिमकाली, चिल्ड्रेन पार्क हुँदै पीपलथोकस्थित भीमसेन उद्यानसम्म ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिनेछ। नेपाल सरकारले केन्द्रबाट छुट्याउँदै आएको बजेटको केही अंश गोरखामा पुर्याए पर्यटकीय क्षेत्र बन्न सक्छ।

– सुवास सुन्दास, गोरखा

स्वाइनफ्लुको माहामारीप्रति सचेत बनौं

चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको समाचार बाहिर आइसकेको छ। पछिल्लो तीन महिनाको अन्तरालमा चितवनमा मात्रै ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको छ। बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन्। स्वाइनफ्लु लागेका बिरामीमा शुरूमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने चिकित्सकले बताउछन्।

हामीले यस्तो अवस्थामा सचेत हुन जरुरी छ। सरसफाइ र नियमित सम्पर्क हुने ठाउँहरूमा निक्कै सचेत हुनु जरुरी भएको छ। सामान्य रुघाखोकी त हो भनेर चुप लागेर बस्न हुँदैन। उपचार गराइहाल्नुपर्छ। सरकारले पनि उच्च सतर्कता अपनाएर उपचार र औषधिमा तत्काल कदम चाल्न जरुरी छ। महामारीको रूप लिएमा निक्कै क्षति हुने भएकाले पनि यो विषयमा स्वास्थ्य मन्त्रालयले केही गरिहालोस्।

– सरिता सिलवाल, चितवन

जिरीका भूकम्पपीडितलाई राहत खोई ?

भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन्। जिरी नगरपालिकामा पुनर्निर्माणको गति अत्यन्तै सुस्त हुँदा कसैको ध्यान गएको छैन। दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनर्निर्माण भएको छैन यहाँ। नेपाल सरकार र अन्य संघसंस्थाको ध्यान जान जरुरी छ।

जिरीमा समस्यामा परेका पीडितको दैनिकी निकै दुखदायी भएको छ। सरकारको कार्यक्रम पनि पुग्नसकेको छैन। पीडितले छाक टारेर बस्नुपरेको छ। झरीमा भिजेर रात काट्ने बाध्यता छ यहाँ। यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।
– सुलोचना तिमिल्सिना, जिरी, दोलखा

LEAVE A REPLY