नाडामा युवा लक्षित मोटरसाइकल



 

नेपाल समाचारपत्र
काठमाडौं
भृकुटीमण्डम जारी नाडा अटो मेलाले नयाँ बाइक चढ्न आतुर प्रयोगकर्तालाई नयाँ–नयाँ फिचर भएका मोटरसाइकल ल्याएको छ। नाडा शोले धेरै युवा तथा पारखीको नयाँ बाइक चढ्ने सपना पूरा गर्दै छ। नाडा शोमा एकै स्थानमा विभिन्न कम्पनीका बाइक हुने भएकाले रोजाइका लागि फरक स्थान धाउनुपर्दैन।

यसपटकको नाडा अटो शोमा १८ मोटरसाइकल कम्पनीका विभिन्न मोटरसाइकल प्रदर्शनीमा राखिएका छन्। तीमध्ये केही यसप्रकार छन्।

बजाज
बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज एन्ड हुलासचन्द प्रालिले नाडा अटो शोमा युवावर्गलाई लक्षित गर्दै ‘डोमिनर ४००’ प्रदर्शनीमा राखेको छ।
‘डोमिनार ४००’ गत वर्षको नाडामा देखिएको थिएन। स्पोर्टी लुक्स र फिचर्सयुक्त यो बाइकलाई विशेषगरी युवा पुस्ताले रुचाइरहेका एचएच बजाजले जनाएको छ। मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ।

यसको फरक प्रकारको हेडल्याम्पले बाइकको लुक्स नै परिवर्तन गरेको छ। यसमा पूरै डिजिटल स्पिडोमिटर छ। ३७४ सीसी क्षमताको यो बाइकमा ट्रिपल स्पार्क इन्जिन छ। ६ गेयर रहेको यो मोटरसाइकल देख्नमा आकर्षकमात्रै छैन, उत्तिकै शक्तिशाली पनि छ।
यामाहा
यामाहाको अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटोशो आर–१५, एफजेड २५, वाई जेड एफ आर थ्री, आर वन फाइभ लगायतका बाइक प्रदर्शनीमा राखेको छ।

तीमध्ये यामाहाको २ सय ५० सीसीको एफ जेड २५ स्ट्रिट फाइटर मोटरसाइकल सबैको नजरमा छ। सो मोटरसाइकल केही समयअघि मात्र सार्वजनिक भएको हो। बाइकमा आयल कुल्ड, फ्युल इन्जेक्सन इन्जिन जडान गरिएको छ।

भेस्पा एप्रिलिया
भेस्पा र एप्रिलियाको अधिकृत बिक्रेता डिलाइफ स्टायल्सले एप्रिलिया एसआर १५, भेस्पा एल एक्स १२५, भेस्पा भी एक्स, भेस्पा एस एक्स एल १२५, भेस्पा ट्वीन भेरिएसन जस्ता बाइक तथा स्कुटर प्रदर्शनीमा राखेको छ।

तीमध्ये नाडा अटो शोमा भेस्पाले नयाँ स्कुटर भेस्पा–एलएक्स सार्वजनिक गरेको छ। १ सय २५ सीसी इन्जिन क्षमताको यो स्कुटर यसअघि उपलब्ध स्कुटरको तुलनामा केही सस्तो रहेको छ। गोइङ ब्याक टु रेट्रो भनिएको यो स्कुटरमा डिजिटल नभई एनालग डिस्प्लेट, ड्रम ब्रेक छन्।

होन्डा
होन्डा बाइकको अधिकृत बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले नाडा अटो शोमा सीबी १९० आर सार्वजनिक गरेको छ। मेलामा जापानी मोटरसाइकल कम्पनी होन्डाको सीबी १९० आर स्पोर्टी लुक्समा रहेको छ। मोटरसाइकलमा १ सय ८४ सीसीको एयर कुल्ड फोर स्ट्रोक इन्जिन जडान गरिएको छ।

हिरो
अटो शोमा हिरोको मेस्ट्रो एज स्कुटर सार्वजनिक भएको छ। हिरोको नेपाली बिक्रेता नेपाल जेनरल मार्केटिङ (एनजीएम) ले मेलामा मेस्ट्रो एजलाई आफ्नो मुख्य आकर्षणका रूपमा राखेको छ। १ सय १० सीसीको मेस्ट्रो एज नयाँ मोडल हो।

रेनिगेड
यसैगरी रेनेगेड बाइकको अधिकृत बिक्रेता आईएमई अटोमोटिभ्सले नाडा अटो शोमा रेनेगेड स्पोर्ट्स एस र रेनेगेड कमान्डो ३०० सार्वजनिक गरेको छ। रेनेगेड स्पोर्ट्स एसको बजार मूल्य ४ लाख ९९ हजार रुपियाँछ भने रेनेगेड कमान्डो ३००को बजार मूल्य ४ लाख ९२ हजार रुपियाँ रहेको छ अमेरिकन कम्पनी यूएमका यी दुईवटा नयाँ बाइक पनि नाडामा देखिएका छन्। रेनिगेड कमान्डो ३०० बाकइमा वाइड ह्यान्डलबार, हाइड्रोलिक टेलिस्कोपिक फ्रन्ट, स्प्रिङ रियर सस्पेन्सनले सुसज्जित छ। त्यस्तै ‘रुल द स्ट्रेस’ भन्ने नारामा प्रवद्र्धन गरिएको स्पोर्ट एस ३०० बाइकमा बल र नियन्त्रणको संयोजनको विशेषता रहेको छ।
दुवै मोडलमा १८ लिटरको इन्धन क्षमता र १ सय ७२ किलोको तौल छ।

महिन्द्रा
महिन्द्रा बाइकको अधिकृत बिक्रेता अग्नि मोटर्सले नाडा अटो शोमा मोजो प्रिमियम, सेन्ट्युरो गस्टो १२५ गस्टो ११० लगायतका युवालक्षित बाइक तथा स्कुटर प्रदर्शनमा राखेको छ।

मोजो प्रिमियमको बजार मूल्य ५ लाख ८० हजार रुपियाँ रहेको छ भने महिन्द्रा सेन्ट्युरोको बजार मूल्य १ लाख ३९ हजार ९ रुपियाँ रहेको छ। यसैगरी महिन्द्रा गस्टो १२५ को बजार मूल्य १ लाख ८७ हजार ९ सय रहेको छ भने गस्टो ११० को बजार मूल्य १ लाख ७६ हजार ९ सय रहेको छ।
ग्राफिक्स र केही फिचर्स परिवर्तन गरिएको महिन्द्रा गस्टो नेपाल भित्रिन लागेको हो।

टीभीएस
टीभिएस बाइकको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले नाडा अटो शोमा युवावर्गहरूलाई लक्षित गर्दै अपाचे आरटीआर २००, आरटीआर १८० प्रदर्शनीमा राखेको छ।

टीभीएस मोटर्सले अटो शोलाई लक्षित गरेर अघिल्लो साता स्ट्राइकर सार्वजनिक गरेको हो। १ सय २५ सीसीको यो मोटरसाइकल आकर्षक डिजाइनमा छ। इन्धन किफायती र शक्तिको सही मिश्रण भएको स्ट्राइकर नेपाली सडक सुहाउँदो रहेको कम्पनीको दाबी छ।

स्ट्राइकरको सबैभन्दा आकर्षक पक्ष माइलेज हो। यो एक लिटर पेट्रोलले ६७ किलोमिटर कुद्नेछ। स्ट्राइकरमा इको थ्रस्ट इन्जिन जडान गरिएको छ। यो सिरिजको मोटरसाइकलमा पहिलो पटक एलईडी टेल ल्याम्प र फुल डिजिटल स्पिडोमिटर राखिएको कम्पनीको दाबी छ।

रोयल एनफिल्ड
नाडा अटो शोमा क्लासिक ३५० जीटी, क्लासिक ५०० प्रो, हिमालयनलगायतको युवा लक्षित बाइकहरू प्रदर्शनीमा राखेको छ।
क्लासिक ३५० को बजार मूल्य ४ लाख ४९ हजार रहेको छ भने रोयल एनफिल्ड कन्टिनेन्टल जिटीको बजार मूल्य ७ लाख २१ हजार रहेको र क्लासिक ५०० प्रोको बजार मूल्य ५ लाख ८१ हजार रुपियाँ रहेको छ भने हिमालयनको बजार मूल्य ५ लाख ६१ हजार रुपियाँ रहेको छ।

बेनिली
बेनिलीको टीएनटी ३०० मोडल अपग्रेडेड भर्सनमा भित्रिने भएको छ। बाइक नयाँ भेरियन्ट अटो शोमा सार्वजनिक गर्न लागिएको हो। नयाँ भर्सनमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) थपिएको छ। स्पोर्टी डिजाइनमा रहेको बाइकले हेभी बाइकका पारखीको मन जित्ने विश्वास कम्पनीको छ।

प्रतिक्रिया दिनुहोस्