कारोबार ठप्प घरघरमा नै थन्कियो चिराइतो



 

रविन भट्टराई, ताप्लेजुङ
पूर्वी पहाडी जिल्लामा व्यावसायिक रूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ। उत्पादन शुरू भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन्। मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन्। भारतमा निकासा रोकिएपछि चीनतर्फ केही कारोबार भए पनि अहिले चीनमा पनि बिक्री ठप्प भएको ताप्लेजुङका व्यवसायीहरूले बताएका छन्।

चीनमा बिक्रीका लागि लगिएको चिराइतो किन्न चिनियाँ व्यापारी नआउँदा सबै चिराइतो ओलाङचुङ्गोलामा थन्किएको स्थानीय व्यापारी छेतेन शेर्पाले बताए। मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेश निर्यात बढाउन पनि पहल भइरहे पनि निर्यात हुने सम्भावना कम रहेको व्यापारीहरूको भनाइ छ। चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ। महत्त्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन्।

चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलामलगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन्। प्रतिमन ३० हजार रुपियाँसम्ममा बिक्री भएको चिराइतो गत वर्ष आधा मूल्यमा बिक्री गर्न पनि मुस्किल भएको थियो। उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका जिल्लाका करिब पाँच हजार कृषक अन्योलमा छन्। ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ। समुद्री सतहबाट करिब १२ सयदेखि ३ हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो।

असार–साउनदेखि असोजसम्ममा यसको फूल फुल्छ। फूल परिपक्व भएपछि बोटै उखेलेर चैत्र महिनासम्ममा यसको संकलन गरिसक्नुपर्दछ। आयुर्वेदीय पद्धति अनुसार यो जडीबुटी कृमि नाशक, ज्वरान्तक, घाउ, खटिरा, स्वाद र रुचि बढाउने औषधि बनाउन प्रयोग गरिन्छ भने औलोको ज्वरोमा पनि यो निकै उपयोगी हुने आयुर्वेदिक चिकित्सकहरू बताउँछन्। यसबाट चीनमा सिटामोललगायतका औषधि बनाइने गरेको स्थानीय व्यापारी बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्