खसी किन्ने ? सिङ हेर्नुस्



 

ईश्वरराज ढकाल, काठमाडौं

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुस्। हरियो लगाएको मात्र खानुस्। किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन्। दशैंमा राजधानी भित्त्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ।

कामपाले गत वर्षजस्तै यो वर्ष पनि खसीबोको परीक्षण शुरू गर्ने भएको छ। राजधानीमा खसीबोका भित्रने नाकामा कडा चेकजाँच गरी परीक्षण गरिएको मात्र खसीबोकाको मासु खान अनुरोध गरेको कामपाले यो वर्ष असोज २ गतेदेखि परीक्षण शुरू गर्ने भएको छ।

‘हामी दशैं अगाडि खसीबोका परीक्षण गर्न सम्पूर्ण तयारी गरिरहेका छौं’ –कामपा समाज कल्याण विभागका प्रमुख बद्रीबहादुर खड्काले भन्नुभयो। उहाँका अनुसार चारवटा अनुगमन समिति बनाएर चार क्षेत्रमा अनुगमन गर्ने तयारी भइरहेको छ। राजधानीको कलंकी, कोटेश्वर, बागबजार र बिजुलीबजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने भएको छ। ‘जति पनि खसीबोका काठमाडौं भित्रिन्छन् सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै बिक्री वितरण हुन्छन्’ –खड्काले भन्नुभयो।

कामपाले खसी–बोका व्यवस्थापन समिति, चार क्षेत्रका व्यापारी, र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरेको छ। उहाँले खसी–बोका मात्रै नभएर मिष्ठान्न पदार्थ, खाद्यान्न र पेय पदार्थको समेत अनुगमन गरिने जानकारी दिनुभयो।

कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कामपाको संयोजनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य कार्यालय र भेटनरी कार्यालयको संयुक्त कार्यदल बनाएर खसी–बोका परीक्षण गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘गतवर्षभन्दा यस वर्ष थप व्यवस्थित तरिकाले अनुगमन र खसी–बोकाको स्वास्थ्य परीक्षण गर्नेछौं। गत वर्ष कामपाले राजधानीको विभिन्न चार स्थानमा करिब ४५ हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गरेको थियो। करिब ३ सयको हाराहारीमा अस्वस्थ खसी–बोकाको सिङमा रातो रङ लगाइएको तथ्यांक छ। रातो लगाउँदैमा खान नहुने भन्ने होइन, अस्वस्थ ती खसी–बोकाको पुनः स्वास्थ्य परीक्षण गरी खानयोग्य भएमा खान मिल्ने सिफारिस गरिएको थियो। यो वर्ष राजधानी भित्रने नाका थानकोट, फर्पिङ, भक्तपुरलगायत स्थानबाट काठमाडौ भित्रने खसी–बोकाको अनुगमन गर्ने तयारीसमेत कामपाले गरेको छ। हामीले केही दिनभित्र समिति बनाएर अनुगमन गर्नेछौं’ –महाशाखा प्रमुख श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँले सबै सरोकारवाला निकायसँग छलफल गरी परीक्षणका लागि तयारी गर्ने जानकारी दिनुभयो। यो वर्ष करिब ५० हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी कामपाले गरेको छ।

कामपाले अरोज २ देखि घटस्थापनाको अघिल्लो दिनसम्म स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। हामी राजधानीबासीलाई दशैंमा स्वस्थ्य मासु खुवाउन उपत्यका भित्रने सबै खसी–बोकाका स्वाथ्य परीक्षण गर्ने तयारी गरिरहेका छौं’ –श्रेष्ठले भन्नुभयो। कामपाले अन्य दिन कुनै पनि राजधानी भित्रने खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने गरेको छैन। खसी–बोकाको मात्रै परीक्षण गर्ने कामपाले राँगा र पक्षीको स्वास्थ्य परीक्षण गर्न भने कुनै पनि तयारी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्