गाडी फर्काएर हत्याकाण्ड जनता निस्के सडकमा



 

नेपाल समाचारपत्र
काठमाडौं
राजधानीको असन कमलाक्षीका गौतम ताम्राकारको रत्नपार्क नजिकै मिनीबसले ठक्कर दिएर मृत्यु भएको विरोधमा चालकलाई आजीवन कारावास र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाइनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको छ।

काठमाडौंको असन चोकबाट शुरू भएको विरोध प्रदर्शन इन्द्रचोक हुँदै पुनः असनचोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा स्थानीयहरूले सडक दुर्घटनाको नाममा हत्या गर्ने सवारी चालकलाई कारबाही गरी मृतक परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्। माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने स्थानीय दशनारायण महर्जनले बताउनुभयो।

मृतककी बहिनी युरिका ताम्राकारले निर्दोष दाइलाई विनाकारण मारिएको भन्दै परिवारको जिम्मेवारी कसले लिने भनी सरकारलाई प्रतिप्रश्न गर्नुभयो। उहाँले भन्नुभयो– ‘भदौ ७ गते आफन्त बिरामीलाई अस्पतालमा भेट्न जाने क्रममा बेलुकी ५ बजे रत्नपार्क विद्युत् प्राधिकरण नजिकै भाउजू पछाडि बस्नुभएको बेला गाडीले ठक्कर दियो। भाउजूलाई धेरै च्याप्न पाएन तर, दाइलाई निकै चोट लागेकाले उठ्न सक्नुभएन। अनि दाइलाई सो गाडी घुमेर आएर उहाँको ढाड माथिबाट गाडी गयो। दोषीलाई कारबाही नगरेसम्म हाम्रो मनमा शान्ति हुँदैन।’ कोणसभामा बोल्नुहुँदै नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले राजनीतिक दलहरूका कारण दोषीलाई उन्मुक्त गर्न नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्