सांसदको व्यक्तिगत लगानीमा २५ शैय्याको अस्पताल



 

प्रकाश पन्त, वीरेन्द्रनगर
सांसद राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैय्याको अस्पताल निर्माण थाल्नुभएको छ। कुमारी ट्रस्टमार्फत् ५ करोड रुपियाँको लगानीमा छेडागाड नगरपालिका–५ थलबजारमा अस्पताल निर्माण थाल्नुभएको हो।

जाजरकोट जिल्लाको पश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले थलबजारमा अस्पताल निर्माण गर्न लागेको सासंद शाहले बताउनुभयो। जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित सांसद शाहले कमजोर आर्थिक अवस्था भएका यस क्षेत्रका जनतालाई गाउँघरमै सर्वसुलभ रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण गर्न लागेको पनि उल्लेख गर्नुभयो।
एलजीएस लोगोस्ट्रिल प्रविधिको प्रयोग गरी आगामी मंसिर महिनाभित्र निर्माण सम्मन्न गर्ने गरी भवन निर्माणको काम शुरू गरिएको निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रले बताएको छ। अहिले अस्पतालको फाउन्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको डिजाइनर एचबी अर्किटेक्ट कम्पनीका आर्किटेक्ट राजीव अवालले बताउनुभयो।

जग निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले अबको दुई⁄तीन दिनभित्रै बाँकी निर्माणको काम शुरू हुने जानकारी दिनुभयो। २५ शैय्याको अस्पताल भवनका साथै डाक्टर र स्टापहरूका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गर्न लागिएको छ। आर्किटेस्ट अवालेले माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गर्न लागिएको र पछि यसलाई विस्तार गर्न सकिने बताउनुभयो।

भूकम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपियाँका उपकरण पनि किनिएको छ। अस्पताल निर्माणपछि पश्चिम क्षेत्रका साविकका १५ वटा गाविसका साथै पूर्वी क्षेत्रका अधिकांश गाविसका जनतालाई पनि उपचारमा सहयोग पुग्ने नेपाली कांग्रेस जाजरकोटका सचिव खड्क बिसीले बताउनुभयो। उहाँले थलबजारमा २५ शैय्याको अस्पताल निर्माण हुन थालेपछि यस क्षेत्रका जनता निकै हर्षित भएको पनि उल्लेख गर्नुभयो।

अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकाले आर्थिक रूपमा विपन्न जनतालाई धेरै राहत पुग्ने पनि सचिव बिसीले बताउनुभयो। २०७० सालको निर्वाचनमा सांसद शाहले क्षेत्र नं २ का जनतासँग गर्नुभएको प्रतिबद्धतालाई अस्पताल बनाएर पूरा गर्नुभएको छ। चुनावको बेला उहाँले थलबजारमा व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गर्ने जनतासँग प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्