पेलेलाई उछिने रोनाल्डोले



 

लन्डन, (एजेन्सी)
फिफा विश्वकप छनोटमा पोर्चुगलले फारोए आइल्यान्डलाई ५–१ ले हराउँदा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै पेलेको गोलको कीर्तिमानलाई उछिनेका छन्।

बिहीबार भएको युरोपेली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा ह्याट्रिकसँगै रोनाल्डोले ब्राजिलियन महान् खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमानलाई तोडेका हुन्। रोनाल्डोले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। यस्तै खेलको २९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै उनले अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको अन्त्य अघि रोग्बी बाल्डीभिन्सनले गोल गर्दै भ्रमणकारी टोलीलाई खेलमा जीवितै राखे।

तर विलियम कार्भालोले ५८औं मिनेटमा गोल गरेपछि पोर्चुगलको गोलसंख्या चार पुग्यो। रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

पोर्चुगलका लागि पाँचौं गोल नर्विच सिटीका स्ट्राइकर नेल्सन ओलिभेराको नाममा रह्यो। उनले खेलको ८८औं मिनेटमा उक्त गोल गरेका थिए। यसै समूहको अन्य खेलहरूमा हंगेरीले लात्भियालाई ३–१ ले हराउँदा स्विट्जरल्यान्डले पनि एन्डोरालाई ३–० पराजित गरे।

फ्रान्सद्वारा नेदरल्यान्ड्स पराजित

फिफा विश्वकप २०१७ अन्तर्गत युरोपेली छनोट चरणमा फ्रान्सद्वारा नेदरल्यान्ड्स ४–० गोल अन्तरले पराजित भएको छ। फ्रान्सको सानदार जितमा थोमस लेमारले दुई गोलको योगदान गरे। ग्रिजम्यानको गोलबाट १४औं मिनेटमा फ्रान्सले खेलमा गोलको खाता खोलेका थिए। पहिलो हाफसम्म एक गोलले अघि रहेको फ्रान्सका तर्फबाट लेमारले ७३औं र ८८औं मिनेटमा गरी दुई गोलको योगदान गरे। उनले यो आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेका हुन्।

उता नेदरल्यान्ड्सले भने दोस्रो हाफमा अधिकांश समय १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। चार मिनेटको फरकमा दुई पहेंलो कार्ड देखेपछि केभिन स्ट्रटम्यानले मैदान छोड्नुपरेका थिए। जसका कारण खेलको ६२औं मिनेटपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको थियो। यस्तै खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा बाप्पेले एक गोल थपेपछि फ्रान्सको गोलसंख्या चार पुग्यो। उनको यो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो।

समूह ‘ए’ कै अर्को खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले पराजित गरेपछि फ्रान्सको अग्रता थप फराकिलो भएको हो। शीर्ष स्थानमा रहेको फ्रान्सको १६ अंक भएको छ। यसै गरी समान खेल खेलेर दोस्रो स्थानको स्विडेनको १३ अंक छ भने तेस्रो स्थानमा उक्लेको बुल्गेरियाको १२ अंक छ। हारपछि १० अंकमा यथावत् चौथो स्थानमा रहेको डच टोलीको विश्वकपमा पुग्ने आशा क्षीण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्