रजस्वलाका कारण बालिकाद्वारा आत्महत्या



 

नयाँदिल्ली, (एजेन्सी)
दक्षिणी भारतमा विद्यालयमा रजस्वलाका कारण लुगामा लागेको दागलाई लिएर शिक्षकले उपहास गरेको कारण एकजना १२ वर्षीया छात्राले आत्महत्या गरेकी छिन्। सुसाइड नोटमा उनले शिक्षकले आफूलाई मानसिक यातना दिएको उल्लेख गरेकी छिन्। तर ती छात्राले उक्त नोटमा महिनावारीको कारण आफू लज्जित हुनुपरेको कुरा भने उल्लेख गरेकी छैनन्।

नाम नखुलाइएकी ती छात्राकी आमाले भने रगतको दागकै कारण शिक्षकले उनलाई कक्षाबाट निकालिदिएको बताएकी छिन्। भारतका ग्रामीण क्षेत्रमा महिनावारीलाई निकै साँघुरो मानसिकताले हेर्ने गरिन्छ। भारतमा रजस्वला भइरहेको अवधिमा परम्परागत रूपमा महिलाहरूलाई अपवित्र मान्ने गरिन्छ।
प्रहरीले आत्महत्याको उजुरी दर्ता गरी यस सम्बन्धमा आवश्यक छानबिनअघि बढाइएको छ।

यो घटना गत आइतबार बिहान सबेरै तमलिनाडु राज्यको तिरुनेल्भेली जिल्लामा भएको हो। सुसाइड नोटमा उनले लेखेकी छिन्– ‘आमा, कृपया मलाई माफ गर्नुहोस्। मेरो शिक्षकले मेरा बारेमा किन त्यस्तो गुनासो गरिरहेको भन्ने मैले बुझ्नै सकेको छैन। तिनीहरूले मलाई किन यसरी हेप्ने र यातना दिने गरिरहेको भन्ने बुझ्नै सकिनँ।’

उनकी आमाले विगतमा पनि सोही शिक्षकले उनलाई गृहकार्य नगरेको निहुँमा पिट्ने गरेको बताएकी छिन्। उनले यस घटनाबारे बीबीसी तमिललाई बताएकी छिन्– ‘गत शनिबार विद्यालयमा रहेकैबेला मेरी छोरीको रजस्वला भएको थियो। आफ्नो समस्या बताएपछि उनलाई शिक्षकले डस्टरको प्याड दिएका थिए।
शिक्षकले उनलाई कक्षा कोठाबाहिर उभिन लगाएका थिए। एउटी १२ वर्षीया कलिलो मनस्थितिकी बालिकाले यस्तो उपहास कसरी सहन सक्छिन्? सो विद्यालयले भने प्रहरीलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ।’

प्रतिक्रिया दिनुहोस्