रखाइनबाट हिन्दू पनि भाग्न बाध्य



 

ढाका, (एजेन्सी)
म्यान्मारको रखाइन प्रान्तमा जारी हिंसाका कारण हजारौं नागरिक घर छोडेर पलायन भइरहेका छन्। अल्पसंख्यक रोहिंग्या मुसलमानसँगै हिन्दू परिवार पनि बंगलादेश सीमातर्फ भाग्न बाध्य भइरहेका छन्। यसैबीच संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा म्यान्मारको रखाइन प्रान्तबाट बंगलादेश, थाइल्यान्ड र भारतलगायत विभिन्न देशमा पलायन हुनेको संख्या ४० हजार नाघिसकेको उल्लेख गरेको छ।

बौद्ध बहुल म्यान्मारमा रोहिंग्या मुस्लिमहरूमाथि कयौं प्रतिबन्ध लगाइएका छन्। रखाइन प्रान्तमा केही वर्षदेखि रोहिंग्या र बौद्धबीच संघर्ष भइरहेको छ। यस क्रममा दशौं हजार रोहिंग्या ज्यान बचाएर बंगलादेश भागेका छन्। रोहिंग्या समुदायले म्यान्मार सरकारमाथि जातीय हिंसा मच्चाएको आरोप लगाएको छ।
म्यान्मारमा जारी हिंसाका कारण अहिलेसम्म ४ सयभन्दा धेरै हिन्दूले पनि आफ्नो घर छोडिसकेको जनाइएको छ। यसमा महिला तथा बच्चाको संख्या सबैभन्दा धेरै छन्। सेनाले कयौंको हत्या गरेको छ भने धेरैको घरमा आगो लगाइदिएको जनाइएको छ। कक्स बजारका हिन्दू बुद्धिस्ट क्रिश्चियन युनिटी परिषद् काउन्सिलका नेता स्वपन शर्माले उखियाको कुटुप्लोंग शरणार्थीमा ४ सय १२ हिन्दूले मन्दिर र वरपरको स्थानमा सरण लिएर बसेको जानकारी दिए।
कक्स बजारको जिला प्रशासनले पनि उक्त कुराको पुष्टि गरेको छ।

रमा कर्माकर आफ्ना दुई बच्चासँग रखाइन प्रान्तको रिक्ता गाउँमा बस्न आएकी थिइन्। म्यान्मार सेनाले उनका पतिसहित गाउँमा थुप्रैको हत्या गरेका छन्। सेनाले उनीहरूको घरमा आगो लगाएको र महिला तथा बच्चाहरूमाथि उत्पीडन गरेको आरोप छ। यसले त्यहाँका हिन्दू परिवार बंगलादेशतर्फ भाग्न बाध्य भएका छन्।
रिक्ता गाउँसहित चिआंगछारी र फकिराबाजारको गाउँमा बस्दै आइरहेका हिन्दू पनि आ–आफ्ना घर छोडेर बंगलादेशतर्फ भागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्