नेपालको सडकमा भारतीय बालबालिका



 

सुरेश तामाङ, काठमाडौं
काठमाडौं उपत्यकाका अति व्यस्त स्थानहरूमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका अभिभावकका कारण नेपालका सरकारी निकायहरू हैरान भएका छन्।

जोखिमयुक्त अवस्थामा पैसा मागी बस्ने र बसाउने बालबालिका र तिनका अभिभावकसमेतलाई उद्धार गरे पनि तिनीहरू फेरि सडकमै पुग्ने समस्याले गर्दा केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र हैरानीमा परेका हुन्।

शहरका अति व्यस्त स्थानहरूमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका अभिभावक समेतबाट शहरका बटुवालाई समेत हैरानी पारेपछि केन्द्रले उनीहरूलाई सडकबाट उद्धार गरी पुनः सडकमा बस्न बसाउन नहुने बारेमा ४ देखि ६ घण्टासम्म राखी सचेतना अभिवृद्धि गरेको केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभयो।

केन्द्रले अति व्यस्त हुने शहरका विभिन्न ठाउँहरूको पहिचान गर्दै ५२ बालक, ४५ बालिका र २६ अभिभावक फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँड्ने गरेको विवरण केन्द्रीय बाल कल्याण समितिलाई बुझाएको छ।

केशरमहल, दरबारमार्ग, सुन्धारा, पुरानो बसपार्क, गौशाला पशुपति, विमानस्थल क्षेत्र, कोटेश्वर, जावलाखेल, कलंकी, स्वयम्भु, थापाथली पुल, नयाँ बसपार्क (बालाजु), बल्खु सुकुम्बासी बस्ती र लोकन्थलीको सुकुम्बासी बस्तीमा धेरैजसो भारतीय बालबालिका तथा तिनका अभिभावकसहित पैसा माग्दै हिँड्ने गरेको विवरणमा उल्लेख छ।

उद्धार गरिएका बालबालिका र अभिभावकले आफूहरू भारतका रूपैडिया, गौंडाका रहेको बताएको समितिका बालसंरक्षण अधिकृत सुनिता शाहले बताउनुभयो। उहाँका अनुसार अधिकांश भारतीय नागरिक भएको बुझिए पनि केहीको भने रासन कार्ड रहेको छ।

सडकमा यस्तो अवस्थामा भारतीय बालबालिका र तिनका अभिभावक देखिएपछि यसको समस्या समाधानका लागि समितिले भारतीय राजदूतावाससँग सहकार्य गर्न लागिएको जनाएको छ।
समितिका कार्यकारी निर्देशक तारक धितालले भारतीय बालबालिका र तिनका अभिभावकका विषय व्यवस्थापनका लागि भारतीय दूतावाससँग सहकार्य गर्न लागिएको बताउनुभयो। ‘हामीले राजदूतावाससँग मौखिकरूपमा कुरा राख्दा समस्याको व्यवस्थापनका लागि सहमतिजस्तो भएको छ’, उहाँले भन्नुभयो– ‘दूतावासले विवरण माग गर्ने र समस्याको व्यवस्थापनका लागि सहकार्य गर्ने भनिएको छ। आशा छ, यो समस्या चाँडै टुंगो लाग्नेछ।’

केन्द्रले समितिसँग सहकार्य गर्दै सडकमा बालबालिका बस्नुपर्दैन र सडकमा बालबालिका बस्न पाइँदैन भन्ने अभियान स्वरूप समितिसँगको समन्वयमा २०६३ वैशाखदेखि निरन्तररूपमा सडकमा जोखिमयुक्त अवस्थामा आश्रितहरूको उद्धार गर्दै आइरहेको छ।

समितिले सडकबाट उद्धार गर्नेमा नेपाली बालबालिका पनि छन्। हालसम्म ६ सय ५६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको जनाएको छ। यो तथ्यांक साउन मसान्तसम्मको हो। यी बालबालिकाहरू ६ वर्षदेखि १८ वर्षमुनिका छन्।

यसरी सडकबाट उद्धार गरिएकामध्ये १ सय ८३ जनालाई परिवारमा पुनर्मिलन गरिसकेको समितिले जनायो। २४ जनाले सीपमूलक तालिम लिइरहेका र १८ जनाले तालिमपछि काम गरिरहेका छन्।

त्यसमध्ये ८ जना बालगृहमा छन् भने २ सय ५८ जना समितिसँगको सहकार्यमा रहेका विभिन्न संस्थाको सेल्टरमा छन्।

प्रतिक्रिया दिनुहोस्