टेक्सासमा नेपाली पनि अलपत्र



 

भगवती तिमल्सिना
नर्थ क्यारोलिना, अमेरिका

अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ। अमेरिकाको चौथो ठूलो शहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आउनुभएका नेपाल टेलिभिजनका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तारा बराल बताउनुहुन्छ।

‘आँधीसहितको वर्षात्का कारण ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल पूरै बन्द छ। मानिसहरू घरबाहिर निस्कनसमेत सकेका छैनन्’ –बरालले भन्नुभयो। उहाँका अनुसार ह्युस्टन महानगरको डाउनटाउन, मेयरल्यान्ड, साइप्रस, केटी, रिचमन्ड, क्लियरलेक, लिगसिटी, मेडिकल सेन्टर र रोजन्सवर्ग सर्वाधिक प्रभावित भएका छन्। प्रायः सबै हाइवे र फिडर रोडहरू यतिखेर नदी र तलाउमा परिणत भएका छन्। जहाँ गाडी होइन डुंगाहरू देखिन्छन्।

पत्रकार बरालका अनुसार स्थानीय चर्चित बेन्टब हस्पिटलमा समेत सबै बेड खाली गरेर बिरामीलाई अन्यत्रै सारिएको छ। मौसम विभागले आउँदो बुधबारसम्म वर्षा जारी रहने जनाएको छ। आँधीसहितको वर्षाले झन्डै एक दर्जनभन्दा धेरै नेपाली परिवार विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन्। यसबाट प्रभावित हुने नेपालीको संख्या अझै बढ्न सक्ने निश्चित भएको बताइएको छ।

यसका साथै ह्युस्टनमा नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिरमा समेत बाढी पसेका कारण क्षति पुगेको छ। आपत्कालीन अवस्थामा अमेरिकामा बसोबास गर्ने हरेक मानिसले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेका छन् भने यहाँ सञ्चालित अधिकांश रेस्टुरेन्टहरूले पीडितहरूका लागि निःशुल्क खानाको समेत व्यवस्था गरेको पत्रकार बरालले जानकारी दिनुभयो। यतिबेला टेक्सास राज्यको ह्युस्टनमा मात्र २ सय ५० भन्दा बढी सडक मार्गहरू पूर्णरुपमा अवरुद्ध छन्। यसका कारण एक ठाउँबाट अर्को ठाउँमा जाने आउने अवस्था पूर्णरूपमै बन्द छ। यता ड्यालसमा रहेका नेपाली विद्यार्थी कुशल आचार्यका अनुसार कतिपय नेपाली काममा गएकै ठाउँमा अलपत्र परेका छन्।

विशेष गरी ग्यास स्टेसनमा काम गर्ने नेपाली अप्ठइरोमा परेको जानकारी आफूले पाएको पनि आचार्यले बताउनुभयो। यसका साथै खाद्यान्न र ग्यासको आपूर्ति ठप्प भएको अवस्थामा बचेखुचेको ग्यासको मूल्य आकासिएको पनि आचार्य बताउनुहुन्छ।

यतिबेला उद्योग, कलकारखाना मात्र नभई दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका मानिसहरू घरबास नभएर बस्नुपर्दा निकै अतालिएका छन्। यस्तो अवस्थामा धैर्य गर्न सरकार, अमेरिकी रेडक्रस, स्थानीय बासिन्दा तथा उद्योगी व्यवसायीले पीडितलाई सान्त्वना दिँदै आएका छन्। यतिबेला रेडक्रसले सक्दो सहयोग जुटाएर निःशुल्क खाना खुवाउने, बसोबासको व्यवस्था गर्नेजस्ता कार्य गरी क्याम्प सञ्चालनमा ल्याएका कारण धेरै पीडितहरूका लागि ठूलो राहत भएको छ। धेरै नेपालीको बसोबास रहेको टेक्सासमा आँधीसहितको भारी  वर्षात्का कारण कति नेपाली अलपत्र परेका छन् र आफ्ना नागरिक कुन अवस्थामा छन् भन्ने बारेमा नेपाली दूतावासलाई भने अत्तोपत्तो छैन। नेपालीहरूको बारेमा जानकारी लिन खोज्दासमेत दूतावासले कुनै मतलब गरेन। बिहीबारसम्मको तथ्यांकमा टेक्सास क्षेत्रमा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३७ हजार घरमा क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्